Logo
Logo

अघिल्लो निर्वाचन ठूलो मतान्तरले जितेका क्षेत्र गुमाउँदै एमाले



काठमाडौं । नेकपा एमालेले मंसिर ४ गतेको निर्वाचनमा विगतमा शानदार जितेको क्षेत्रमा समेत हार्दै छ ।

अघिल्लो निर्वाचनमा ठूलो मतान्तरले जितेका दोलखा, रूपन्देही, चितवनलगायतका जिल्लाका धेरै क्षेत्रमा एमाले उम्मेदवारले निर्वाचन हार्दै गरेको प्रक्षेपण हुने गरेको छ ।

अघिल्लो पटक सबैभन्दा धेरै मतान्तरमा एमालेको जितेको दोलखा यसपटक एमालेले एमालेकै कारण गुमाउने खतरा बढेको छ । ०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण दोलखामा एमालेका उम्मेदवार पार्वत गुरुङले सबैभन्दा धेरै मतान्तरले जितेका थिए ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा दोलखामा एमालेले गुरुङलाई टिकट नदिएर एमाले अध्यक्ष केपी शर्मा ओलीका भान्जा नाता पर्ने बालकृष्ण सिवाकोटीले टिकट पाएका छन् ।

जबकि, दोलखामा निवर्तमान सांसद गुरुङ र पूर्वमन्त्री आनन्द पोखरेल दाबेदार थिए । हार्ने चुनावभन्दै गुरुङ र पोखरेलले जोडबल नगरेपछि सिवाकोटीले टिकट पाएका हुन् । सत्तारुढ गठबन्धनबाट दोलखामा माओवादीका गंगा कार्की उम्मेदवार छन् ।

दोलखामा एमालेका पार्वत गुरुङले कांग्रेसका रुद्र खड्कालाई ३० हजार ६४४ मतान्तरले पराजित गरेका थिए । गुरुङले ५५ हजार ४५७ र खड्काले २४ हजार ८१३ मत ल्याएका थिए ।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार दोलखामा एमाले नै ठूलो दल देखिन्छ  । तर, गठबन्धनको मत एमालेको भन्दा धेरै हुन्छ  ।

एमालेको ३९ हजार ५०, कांग्रेसको ३३ हजार ४३९, माओवादीको १७ हजार ३७५, एकीकृत समाजवादीको तीन हजार १५१, राप्रपाको एक हजार ५११ र जसपाको २०९ मत छ ।

दोलखाको जस्तै अवस्था देशका अधिकांश निर्वाचन क्षेत्रमा एमालेले भोग्दै छ । सत्तारुढ गठबन्धनले गत स्थानीय तह निर्वाचनबाट यसको सन्देश दिइसकेको छ ।

अघिल्लो निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये १५ हजारभन्दा बढी भोटले २० उम्मेदवारले जितेका थिए । ती मध्ये तत्कालीन वाम गठबन्धनबाट एमालेका ११, माओवादीका ४ र जनमोर्चाका १ जना थिए । उनीहरूबाहेक तत्कालीन राजपाका ३ र नेमकिपाका १ उम्मेदवार १५ हजारभन्दा बढी मतान्तरले जित्ने सूचीमा थिए ।

अहिले तत्कालीन वाम गठबन्धन भत्किएको छ  । कांग्रेस नेतृत्वमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वमा विपक्षी गठबन्धन खडा भएको छ ।

गत वैशाखको स्थानीय निर्वाचनको परिणामलाई हेर्दा एमालेका केपी शर्मा ओलीबाहेक सबै उम्मेदवार जोखिममा देखिन्छन । कतिसम्म भने, अघिल्लो पटक माओवादीबाट धेरै मतान्तरले जितेका एमाले सचिव टोपबहादुर रायमाझी सत्तारुढ गठबन्धनकी पुष्पा भुसालभन्दा निकै पछाडि छन् ।

भुसालले यसपटक रायमाझीको जितको यात्रालाई पूर्णविराम लगाइदिने अर्घाखाँचीका मतदाताहरू बताउँछन् । अघिल्लो निर्वाचनमा अर्घाखाँचीमा माओवादीबाट टोपबहादुर रायमाझीले कांग्रेसका डा. रामबहादुर बिसीलाई १८ हजार दुई सय ९३ मतान्तरले पराजित गरेका थिए ।

ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरुमा विरोधमा लागेका रायमाझी पछि ओली सरकारमा मन्त्री बनेका थिए ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमालेको ४८ हजार २६०, कांग्रेसको ३७ हजार ९२५, माओवादीको सात हजार ७९०, राष्ट्रिय जनमोर्चाको चार हजार २९४ र एकीकृत समाजवादीको तीन हजार ७६३ मत छ ।

धादिङ–१ बाट एमालेका भूमिप्रसाद त्रिपाठीले कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १५३ मतान्तरले पराजित गरेका थिए । त्रिपाठीले ४९ हजार १२१ र अर्यालले २१ हजार ९६८ मत ल्याएका थिए । यसपटक भूमिप्रसाद नै उम्मेदवार छन् । तर, धेरै कमजोर देखिन्छन् ।

स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार एमालेभन्दा सत्तारुढ गठबन्धन धेरै अगाडि छ । धादिङ–१ मा सत्तागठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे उम्मेदवार छन् । एमालेबाट

सुनसरी–१ बाट एमालेका जयकुमार राईले जसपाका अशोक राईलाई २२ हजार १२३ मतान्तरले पराजित गरेका थिए । तर, अहिले जयकुमारलाई पन्छाएर ओलीले जसपाका अशोक राईलाई उम्मेदवार बनाएका छन् ।

एमाले–जसपा गठबन्धनका कारण जयकुमारले टिकट गुमाउनुपरेको छ । यसको हिसाबकिताब चुनावमा देखाउने जयकुमार पक्षीय नेताहरूको तयारी छ । सत्तागठबन्धनबाट यो क्षेत्रमा माओवादीका मुक्सामहाङ मेन्याङ्घो उम्मेदवार छन् ।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमालेको ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको ७ हजार १८, राप्रपाको ४ हजार ७४ र जसपाको २२२ मत छ ।

रुपन्देही–२ अघिल्लो पटक एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गरेका थिए । सत्तागठबन्धनले यो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगरलाई समर्थन गरेको छ ।

गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि गठबन्धनले थापामगरलाई समर्थन गरेको हो ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार एमाले र राप्रपाको मत जोड्दा पनि सत्तारुढ गठबन्धनकै बहुमत देखिन्छ । हार्ने डरले सत्तारुढ गठबन्धनको उम्मेदवार खारेजी गराउन पौडेलले चलखेल गरेको रुपन्देहीका मतदाता बताउँछन् ।

यो क्षेत्रमा कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको तीन हजार ९२०, माओवादीको तीन हजार १८८, जनमुक्ति पार्टीको दुई हजार ८७, एकीकृत समाजवादीको एक हजार ३८२ र जसपाको १८३ मत छ ।

गोकुल बाँस्कोटा र महेश बस्नेतहरूको अवस्था पनि उस्तै छ । बाँस्कोटाले काभ्रे–२ मा कांग्रेसका मधु आचार्यलाई १८ हजार सात सय ७३ मतान्तरले पराजित गरेका थिए । यो क्षेत्रमा आगामी निर्वाचनमा बाँस्कोटासँग कांग्रेसका शिव हुमागाईं भिड्दै छन् ।

हुमागाईंभन्दा बास्कोटा धेरै मतले पछाडि छन् । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एमालेको ४५ हजार ५१४, कांग्रेसको ४५ हजार ४५६, एकीकृत समाजवादीको ८ हजार ६७६, माओवादीको ६ हजार ३७० र राप्रपाको २ हजार ३५४ मत छ ।

भक्तपुर–२ मा एमालेका महेश बस्नेतले अघिल्लो निर्वाचनमा कांग्रेसका दमननाथ ढुंगानालाई १७ हजार ७२५ मतान्तरले पराजित गरेका थिए । तर, यो निर्वाचनमा बस्नेत अल्पमतमा परेका छन् । कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा बस्नेतका लागि भारी पर्ने देखिएको छ ।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेस ठूलो दल देखिन्छ । कांग्रेसको २५ हजार ७६४, एमालेको २४ हजार २८६, नेमकिपाको ४ हजार ९२५, राप्रपाको ४ हजार १७२, एकीकृत समाजवादीको १ हजार २०२ र माओवादीको १ हजार ४५ मत छ ।

माओवादी, एकीकृत समाजवादी र जनमोर्चा सुरक्षित
मंसिर ४ को निर्वाचनमा १५ हजारभन्दा बढी मतान्तरले जितेका क्षेत्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा सुरक्षित देखिएका छन् ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण नेपाली कांग्रेसले १५ हजारभन्दा बढी मतान्तरमा एउटा क्षेत्रमा पनि जितेको थिएन । माओवादीले प्राप्त गरेको ४६ मध्ये अधिकांश क्षेत्रमा तथा एकीकृत समाजवादी र जनमोर्चा सबै क्षेत्रमा सुरक्षित देखिन्छन् ।

स्थानीय तहमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार एकीकृत समाजवादी १९ वटै क्षेत्रमा र जनमोर्चा २ वटै क्षेत्रमा सुरक्षित देखिन्छन् ।

सत्तारुढ गठबन्धनमा मिसिएका कारण महन्थ ठाकुरको लोसपा पनि सुरक्षित देखिएको छ । अघिल्लो निर्वाचनमा तत्कालीन राजपा अहिलेको लोसपाबाट महन्थ ठाकुर र शरतसिंह भण्डारीले १५ हजारभन्दा बढी मतान्तरले जितेका थिए ।

अघिल्लोपटक धेरै मतान्तरले जितेका रेशम चौधरीको पार्टी पनि कैलाली क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनभन्दा पछाडि देखिन्छ । चौधरी अहिले जेलमा छन् । उनकी श्रीमती निर्वाचनको मैदानमा छिन् ।

चौधरीले श्रीमती रंजिता क्षेत्रको अध्यक्षतामा जेलबाटै पार्टी गठन गरेका थिए । कैलाली–१ मा सत्तारुढ गठबन्धनका उम्मेदवार रामजनम चौधरी ढुक्क देखिन्छन ।

प्रतिक्रिया दिनुहोस्