काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अपेक्षा गरेको छ । मतदातामैत्री केही प्रावधानले ७० देखि ७५ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा पनि यही हाराहारीमा मत खसेको, अहिले मतदान गर्नुहुँदैन भन्ने पक्ष र जनमत बलियो नभएको, यो दुइटा निर्वाचन भएको, उम्मेदवार पनि ११ हजार हाराहारी रहेको, ८० भन्दा बढी दलले राजनीतिमा भाग लिएको, दलका संगठनमा आबद्ध तथा शुभचिन्तकहरूको सक्रिय सहभागिता रहेकाले एक करोड ३३ लाखभन्दा बढी मत खस्ने आयोगको विश्वास रहेको उनले बताए ।
साढे चार लाख अस्थायी मतदाताले पनि मत हाल्न पाउने अवस्था, दुई दिन सरकारी बिदा, निजी क्षेत्रले पनि दुई दिन बिदा दिने सहमति जनाएकाले मत हाल्ने संख्या बढ्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।














