Logo
Logo

कस्ता नेता चुन्ने ?



देशमा आम निर्वाचन नजिकिँदै गर्दा जनताको गुनासा, ‘निर्वाचन जितेर गएपछि नेता गाउँ नै फर्किएनन् । नेताहरू टुरिस्ट भए । निर्वाचनमा मात्रै गाउँ आउँछन् ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ५ दिनमात्रै छ । राजनीतिक दलका उम्मेदवार र नेताहरू चुनावी प्रचारमा देश दौडाहामा छन् । उनीहरु जनताका घरदैलोमा पुगेर आफूलाई जिताउने आग्रह गरिरहेका छन् ।

भोट माग्न जनताका घरदैलो पुगेका उम्मेदवारहरू जनताले गुनासो गरिरहेका छन्, ‘अघिल्लो चुनावको वाचा खै पूरा भयो ?’ नेताहरुसँग उनीहरुले भन्ने गरेका छन्, ‘चुनावका बेला जहिल्यै ठूलाठूला सपना देखाउँने, देशै कायापलट पार्ने योजना सुनाउँने तर, निर्वाचन जितेर गएपछि काम होइन, नेताको अनुहार देख्नै पाइँदैन ।’

निर्वाचनमा मतदान गर्ने कुरा केवल ५ वर्षका लागि मात्र होइन । यो आफू र आफ्ना सन्ततिको भविष्यसँग पनि जोडिएको हुन्छ । भर्खरै जन्मेका नातीनातिनी, जवान छोराछोरी र बुढेसकालका वृद्ध बा–आमासँग जोडिएका हुन्छन् । त्यसैले देश र जनताको हित र रक्षा गर्न सक्ने कर्मठ, इमानदार र योग्य उमेदवारलाई आफ्नो मत दियौँ ।

हुन पनि नेता कामै नलाग्ने, नेता जति ‘चोर’ भए भनेर हामी गुनासो गरिरहेका छौँ । धेरैजसोले नेताहरूले राजनीतिलाई ‘कमाइ खाने भाँडो’ बनायो भनिरहेका छौँ । कृपावाद र नातावादमा फसेका आरोपहरू लगाइरहेका छौँ । नेताको नियत नै ठिक भएन भनेर गुनासो गरिरहेका छौँ ।

विकासप्रति सरकार र नेतृत्वले गरेका प्रतिबद्धतालाई हेर्दा र सुन्दा हालसम्मको अवस्थाले जनता निराश हुनु स्वाभाविक हो । तर, नेता गाउँघर पुग्नासाथ फूलमाला र अबिर लिएर लाइनमा बस्छौँ । जयजयकार गर्छौँ । तर, निर्वाचनमा गरेको वाचा किन पूरा भएन भने सोध्ने हिम्मत राख्दैनौं ।

विगतका सात दशकलाई हेर्ने हो भने धेरै व्यवस्था फेरिए । तर, अवस्था उस्तै छन् । ००७ सालमा राणा शासनको अन्त्यपछि अन्याय, अत्याचार, गरिबी, अभाव र चरम निरंकुशता हट्ने आशा थियो । तर, लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि त्यही दुरवस्था र त्यही दुर्भाग्य भोग्न बाध्य छन् नेपाली जनता ।

जनताले खोजेको र चाहेको लोकतान्त्रिक गणतन्त्रमा पनि उही गरिबी, अभाव, बेरोजगारी र बेथिति भोग्नु परिरहेको छ । जनताको पिरमर्का, दुःख, वेदना ज्युँकात्यूँ छन् । परिणामतः राजनीतिक दल र दलका नेताप्रति जनतामा वितृष्णा बढिरहेको छ ।
नेता र नेतृत्व आफैँले बनाएको नियम कानूनमा बस्नु पर्दछ । यो नियम अरुलाई बनाएको हो, मलाई लाग्दैन भन्नु नेतृत्वको सबैभन्दा ठूलो बेइमानी हो । अहिले जसले मुलुकको संविधान, कानून र नियमहरू बनाए, उनीहरूले पटकपटक मिचिरहेका छन् ।

अहिलेको नेतृत्वलाई यो सारा परिवर्तन जनताले लडेर ल्याएको होइन, मैले दिलाएको हो भन्ने सोचबाट दिभ्रग्ति र ग्रसित छन् । नागरिकको सर्वोच्चतालाई उनीहरूले आत्मसात गर्न सकेका छैनन् ।

जनतालाई व्यवस्था परिवर्तनसँग खासै सरोकार छैन । व्यवस्था परिवर्तन पछि के–कस्ता विकास भए ? के–केमा असर ग¥यो भन्ने सरोकार छैन । जनतालाई घरआँगनमै मोटरबाटो, धारा, गाउँमै उच्च शिक्षा चाहिएको छ ।

देश संघीयतमा गइसकेपछि राजनीतिक दलले सक्दो प्रचार गरे ‘गाउँ–गाउँमा सिंहदरबार’ पुग्छ । जनतामा आशा र भरोसा पनि थियो । सोचेका थिए– अब गाउँमै आफूले भनेजस्तो चाहेजस्तो सेवा पाइन्छ । तर, ‘गाउँगाउँमा सिंहदरबार’ सुन्दा मिठो लाग्ने, व्यवहारमा भेटिएन ।

जुनरुपमा स्थानीय तहको अवधारणा ल्याइएको थियो, त्योअनुरूप काम हुन सकेको छैन । भ्रष्टाचार सबैभन्दा बढी स्थानीय तहमै झाँगिएको छ । कतिपय नेता नै ठेकेदार र डोजर मालिक छन् । जसका कारण स्थानीय तहमा विकास निर्माणका काममा अरुको प्रवेश हुनै सकेको छैन ।

लोकतान्त्रिक पद्धतिअनुसार जुन स्थानीय तहहरू बनेका छन्, त्यो सकारात्मक पक्ष हो । परिणाम एक्कासी आउने पनि होइन, तर सकारात्मक परिणाम आउने कुनै संकेत देखिँदैन ।

अब आमनिर्वाचन केही दिनमै हुँदैछ । विभिन्न राजनीतिक दलनिकट उम्मेदवारले मतदाता आकर्षित गर्न विभिन्न प्रयास गरिराखेका छन् । उम्मेदवारहरूले तामझामपूर्ण चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् भने मतदातालाई आफ्नो पक्षमा ल्याउन विभिन्न सपना बाँडिरहेका छन् ।

मंसिर ४ भनेको आफूले चाहेजस्तो नेता छान्ने दिन हो । मंसिर ४ देश र जनताको भाग्य र भविष्यको छिनोफानो गर्ने अवसर पनि हो । जनताले कस्तो नेता खोजेका हुन् ? अहिलेको मूल सवाल यही हो । मुलुकमा भ्रष्टाचार मौलाएको छ, विकासको गति मन्द छ, जनताको दैनिकी कष्टकर छ, बिचौलियाको विगविगि छ । निर्वाचनलाई यस्ता समस्याहरुको निकास दिने अस्त्रका रुपमा बदल्न सक्नुपर्छ ।

फेरि पनि अहिलेकै नेताहरू सत्ता र शक्तिमा पुग्ने लक्षण देखिएको छ । ठूला राजनीतिक दलका उनै नेताहरूले फेरि सत्तामा पुग्ने लक्ष्य लिएका छन् । अहिलेको राजनीतिक परिदृश्यलाई हेर्दा न नेता बदलिने छाँट छ, न त नेतृत्व बदल्ने लक्ष्य नै देखिन्छ । अवकाश जीवन जिउनुपर्ने अथवा वृद्धभत्ता खाएर बस्नुपर्ने नेताहरूको लालसाले उही अवस्था सिर्जना गर्ने स्पष्ट देखिन्छ ।
देशका समस्या छरपस्ट छन् । तर, समस्या समाधान गर्ने नेता स्वयंम अहिले समस्या बनेका छन् । देशको बोझ उठाउनुपर्ने राजनीतिक नेतृत्व नै देशका लागि बोझ भएको छ ।

अबचाहिँ साँच्चै योग्य, सक्षम, क्षमतावान र ऊर्जावान् नेता छनोट गर्ने चुनौती हामीसामु तेर्सिएको छ । कुनै लोभलालच, डर र धम्कीमा नपरी स्वविवेक प्रयोग गर्नुपर्ने देखिन्छ । त्यसैले कुनै राजनीतिकवाद र दलप्रतिको आस्थाभन्दा माथि उठेर योग्य, सक्षम र क्षमतावानलाई उम्मेदवारलाई आफ्नो मत दिनुपर्ने देखिन्छ ।

निर्वाचनमा मतदान गर्ने कुरा केवल ५ वर्षका लागि मात्र होइन । यो आफू र आफ्ना सन्ततिको भविष्यसँग पनि जोडिएको हुन्छ । भर्खरै जन्मेका नातीनातिनी, जवान छोराछोरी र बुढेसकालका वृद्ध बा–आमासँग जोडिएका हुन्छन् । त्यसैले देश र जनताको हित र रक्षा गर्न सक्ने कर्मठ, इमानदार र योग्य उमेदवारलाई आफ्नो मत दियौँ । देश चलाउने अधिकारको प्रत्यायोजन गर्ने अधिकार यतिखेर हाम्रै हातमा छ, त्यसैले फेरि नचुकौँ ।

प्रतिक्रिया दिनुहोस्