
काठमाडौं । नेपाली कांग्रेसले हिमालपारिको जिल्लाबाट विजयी सुरुवात गरेको छ । सोमबार प्रतिनिधिसभा सदस्यको मत गणना सम्पन्न हुँदा मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका हुन् ।
२९ वर्षीय उनले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गरेका हुन् ।कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान तानिएको छ ।
निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाए ।
कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका थिए । कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मिएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गरेका छन् ।
होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होटल सञ्चालन गर्दै आएका उनी ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशक समेत हुन् । जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका उनी नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थिए ।
सानै उमेरमा पार्टीको जिल्ला कार्यसमिति सदस्य बनेका उनी साविक लेते गाउँसभापति पनि बनेका थिए । प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गरेका थिए । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।
मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना हुन् । रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाएका थिए ।
विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् । विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिरेका थिए ।
दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना यसपटक योगेशले असफल बनाए । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । रोमी २०७३ मा वाणिज्यमन्त्री बनेका थिए ।
विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो ।
योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताएका थिए ।
उनले जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाएका छन् ।











