Logo
Logo

महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने



काठमाडौँ । थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।
भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङकङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मा छन् ।

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
रविना क्षेत्रको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन् । त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा छन् ।
अन्य खेलाडीमा त्यस्तै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर रहेका छन् । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छन् भने टोलीको प्रशिक्षकमा विनोद दास छन् । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस्