Logo
Logo

भ्रष्टाचारले थिलथिलो बन्दै वीर अस्पताल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । देशकै पुरानो अस्पतालका रुपमा चिनिने वीर अस्पताल समायोजन भइसकेका अहेवका भरमा चल्दैआएको छ । एकदुई जना विवादित कर्मचारीको अगाडि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारी गरुडका अगाडि सर्पजस्तै हुने गरेका छन् । यस्तै कर्मचारीका कारण निर्विवाद मेडिकल बोर्ड पनि विवादमा परेको छ । समायोजन भएको कार्यालयमा नजानका लागि हट्टाकट्टा कर्मचारीले कडा रोग लागेको फर्जी सिफारिस मेडिकल बोर्डबाट बनाएका छन् । जसले गर्दा बोर्डकै बदनाम भएको छ । यस्तो सिफारिस बनाउनका लागि बोर्डमा चलखेल गर्ने पनि अहेब शोभा गौतमहरु नै हुन् ।

चिकित्सकबाट कडा रोग लागेको रिपोर्ट बनाएर त्यसकै आधारमा मेडिकल बोर्डबाट सिफारिस गराउने समूहलाई कारवाही गरी पाउँ भन्दै प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्य सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायमा उजुरी परेका छन् । फर्जी सिफारिस बनाएर स्थानीय निकायमा समायोजन भएर पनि नजानेहरुको बारेमा अख्तियारले छानबिन गर्न सुरु गरिरहेको छ ।

वीर अस्पताल जस्तो विशाल शैक्षिक संस्था जहाँ स्टाफ नर्स, बिएन, एमएन, एमआइटी सहायक, डाक्टरतर्फ एमडी, एमएस, एमडीएस, पीएचडीसरहको डीएम, एमसीएच पढाइ हुने र दैनिक २ सय भन्दा बढी विरामीले सेवा पाउने अस्पताल अहिले भष्टाचारमा लिप्त जम्मा केही अहेव स्तरका कर्मचारीका कारण बदनाम भएको छ । अस्पतालका १३ सय कर्मचारीले पाउँदै आएको सुविधामा पनि तिनै अहेबले कमाइ खाने माध्यम बनाएका छन् । पहिला कर्मचारीले सतप्रतिशत निशुल्क सेवा पाउँथे । सो सेवा लिन हाल वीरका कर्मचारीले पनी शोभा गौतमलाई कमिसन बुझाउनुपर्ने भएको छ । उनलाई १० प्रतिशत पैसा नबुझाउनेलाई उनी सिफारिस नै नदिने गरेको गुनासो कर्मचारीले गरेका छन् । बाहिरबाट आउनेलाई भने जाँचेबापतको रकम बराबर ५० प्रतिशत कमिसन दिएपछि भने सबै फ्री गरिदिने गरेको आरोप गौतममाथि छ ।

कर्मचारी, अन्य विरामीहरु र बिमा गरेकाले वीर अस्पतालकै फार्मेसीबाट गुणस्तरीय र सस्तोमा औषधि पाइरहेका थिए । आफूहरु ठगिएको भन्दै कर्मचारीले सो कुरा उठाउदा उल्टै सिध्याइदिने, सरूवा गर्ने चौतर्फी घेराबन्दी गर्ने कार्य भइरहेको कर्मचारीको गुनासो छ । ती कर्मचारीका अनुसार आफ्ना बिरोधीहरुलाई गुन्डा लगाउने, धम्क्याउने कार्य हुँदै आएको छ । भ्रष्टाचारमा लिप्तहरु कम्युनिष्टको नाममा कमाउनिस्टतिर लागेका छन् । उनीहरुको उद्देश्य पैसा जम्मा गरी कोटेशनमा बिभिन्न नाममा सामान किनेर खाने दाउ रहँदैआएको छ ।
असहाय, गरिव, विपन्न बिरामीको त कुरै छोडौं खाना, दुध, मासु र रोटी सबैमा मात्रा घटाइएको छ । अस्पतालमा भर्ना भएर बसेका विरामीहरुले क्यान्टिनबाट किनेर पेट भर्न बाध्य छन् । वीर अस्पतालमा रोगको साथै पौष्टिक आहार कमीकै कारण आउने बिरामीको सख्या धेरै छ । आफूनिकटलाई वीरको यो समूहले एक पैसामा अण्डा, नून, जिरा मसला, पिठो, चना, बिस्कुट लगायतको टेन्डर स्वीकृत गरेकाले अहिले भर्ना भएका बिरामीले रोग अनुसारको खाना नपाएका हुन् ।

गरिब र विपन्न बिरामीलाई दिंदै आएको उपचार सेवा पनि जस्तै रगत, दिसा, पिसाव एक्सरे, सिटी र एमआरआई सेवा पनि निःशुल्क हुँदैन । गरिब र विपन्न बिरामीको निःशुल्क सेवाका लागि सरकारले बार्षिक करोडौं रूपैयाँ दिन्छ भने खानाका लागि बार्षिक ४ करोड रुपैयाँ आउने गरेको छ । यिनीहरुकै कारण वीर अस्पतालको आफ्नो फार्मेसीमा आवश्यक र महंगो औषधि हुँदैन । वीरको इमर्जेन्सीमा बेहोस बनाउने र कलेजोको बिरामीका लागि आवश्यक पर्ने इन्जेक्सनको ६ हजार ५ सय रुपैयाँ पर्छ । तर वीरको फार्मेसीमा त्यो इन्जेक्सन पाइँदैन । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले फार्मेसीमा कुन कुन औषधि आवश्यक पर्छ, त्यसको सूची अनुसारकै औषधि राख्नुपर्छ । महंगो औषधि किन्न बाहिर जानुपर्छ भन्दा उनले भने–हामी पुनः कमिटीको बैठक राखेर औषधिको सूची थप्छौं ।

फार्मेसी इन्चार्जसहितको वीरको भ्रष्ट समूहले अस्पताल बाहिरका पसलेसँग मासिक एक करोड भन्दा बढी घुस लिएर महंगो औषधि बाहिरका पसलबाट किन्न बाध्य बनाउने गरेका छन् । पहिला बिमाका बिरामीले गुणस्तरीय र सबै औषधि अस्पताल फार्मेसीबाट सस्तोमा नै पाउँथे । हाल पाइँदैन । यो समूहमा वीर अस्पताल बिमा एवम् सामाजिक तथा समन्वयकी प्रमुख शोभा गौतम लगायत छन् । गौतम उनै हुन् जो स्वास्थ्य ब्यवसायी परिषदमा हुँदा मापदण्ड नपुग्ने कलेजलाई अनुगमन र निरीक्षणको नाममा करोडौं असुलेको आरोप लागेको थियो । उनी अहेव हुन् । समायोजनमा उनी स्थानीय निकायमा परेकी छन् । उनकै सक्रियतामा मेडिकल बोर्डबाट समायोजनमा परेका करिब २ सय भन्दा बढी कर्मचारीको रोगै नलागे पनि कडा रोग लागेको फर्जी सिफारिस बनाउने काम भएको बिषयमा समाचार आइरहेका छन् । बोर्डबाट फर्जी सिफारिस बनाउने मूख्य भूमिका उनकै छ ।

बिमा शाखाको प्रमुखमा आउनु भन्दा पहिला कलेजो बिभागमा थिइन् । त्यहाँ पनि महँगो औषधि बिरामीलाई आफूले कमिसन पाउने पसलबाट ल्याउनु नत्र हँुदैन भनेर भन्ने गरेको आरोप लागेको थियो । एउटी अहेव भएर पनि अस्पतालबाट हुने निःशुल्क सिफारिशको अधिकार पनि आफै लिएकी छन् । नियम अनुसार सो अधिकार नेपाल सरकारको उपसचिवलाई हुन्छ । निर्देशक डा.केदार सेन्चुरीलाई मासिक घुस बुझाउँछु भनेर उपसचिवको अधिकार पनि आफैं लिएकी छन् । निर्देशक सेन्चुरीले पनि उपसचिवको अधिकार उनलाई दिनुले उनी पनि गौतमको भ्रष्टाचारको हिस्सा खान्छन् भन्ने आरोपमा बल पुगेको छ । नेपाल सरकारले खटाएका शाखा अधिकृत र उपसचिवलाई वीर अस्पतालबाट अन्यत्रै सरुवा गर्नुपर्छ भन्दै वीरका ब्यापारीसँग पैसा उठाएर सामान्य प्रशासन मन्त्रालयका उपसचिव चन्द्र फुयाँललाई बुझाएको दाबी वीरमा सामान आपूर्ति गर्ने एक ब्यवासायीले गरे । हालै वीर अस्पतालको पाँचवटा कमाउ अड्डा पनि यस्तै समूह र तह नमिल्ने र केही समायोजनमा स्थानीय तहमा परेकालाई घुस लिएर खटाइएको छ ।

अस्पतालमा भ्रष्टाचार गर्ने यो समूहका बिरुद्ध कोही कर्मचारी बोल्न सक्दैनन् । प्रधानमन्त्री, अख्तियार, स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचारका फेहरिस्त नै उतारेर उजुरी पनि दिएका छन् । तर ती उजुरीमा फाष्टट्याकमा कारबाही हुन सकेको छैन । यी र यस्ता भ्रष्टाचारका फेहरिस्त कर्मचारीले न्याम्सका उपकुलपति डा. डीएन यादवलाई भने पनि सुनुवाई हुन नसकेको उल्लेख छ । उपकुलपतिले सुनुवाई नगरेपछि भ्रष्टाचा बिरुद्ध अख्तियार र प्रधानमत्रीकँहा जाने तयारीमा उनीहरु छन् । एक कर्मचारी संगठनका नेताले भने– भ्रष्टाचारमा संलग्नलाई कस्ले हो कारबाही गर्ने ? यिनीहरुकै समूहमध्येका केही कर्मचारीले केही बर्ष पहिला एउटा बलात्कारको घटना जोगाउन सो बलात्कारी सो समयमा अस्पतालमै पेटको अपरेशन गरेर बसेको रिपोर्ट बनाएर दिएका थिए, जुन रिपोर्ट अदालतमा पेश गरेर बलात्कारी उम्किन सफल भएका थिए । पछि अदालतलाई शंका लागेपछि सीआइबीमार्फत् छानविन गरेको थियो । झुटो रिपोर्ट दिने कर्मचारीका बिरुद्ध सीआइबीले बिशेष अदालतमा दायर गरेको मुद्दा बिचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्