Logo
Logo

साविक विजेता फ्रान्सको सानदार सुरुवात



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ ।

दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो ।

फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे । यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक गोल गरे ।

खेलमा सुरुआती अग्रता भने अष्ट्रेलियाले लियो । खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर खेलको २७औँ मिनेटमा फ्रान्सका एड्रिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ३२औँ मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

खेलको ६८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलको ७१औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो ।

यस जितसँगै फ्रान्सले पहिलो खेलमै तीन अङ्क जोडेको छ । समूह ‘डी’को फ्रान्स शीर्षस्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्