काठमाडौं, १८ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा अनियमितता प्रकरणमा थप ५८ जनामाथि छानबिन थालेको छ । आयोगले बधुबार सूचना जारी गरी सात दिन भित्र आयोगमा उपस्थित हुन भनेको छ ।

उनीहरुलाई पत्राचार हुँदा नआएपछि आयोगले पत्रिकामार्फत सूचना जारी गरेको हो । ५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएको अख्तियारले जनाएको छ। बयानका लागि बोलाइएका मध्ये दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरु दुई जनाको विवरण खुलाइएको छैन। कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदार बाहेक बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो। यद्यपि यस प्रकरणका चर्चित पात्र नेकपाका महासचिव बिष्णु पौडेलका छोराको नाम भने अख्तियारले यसमा समावेस गरेको छैन ।
मनोज केडिया, गोविन्दलाल संघाई, भाटभटेनी समूहकी कामना गुरुङ लगायतलाई समेत बयानमा बोलाइएको छ ।
आयोगले पाँच महिनादेखि सो प्रकरणमा अनुसन्धान गर्दै आएको छ । जसमा पूर्व मन्त्रीहरु विजयकुमार गच्छेदार, छविलाल पन्त, डम्बर श्रेष्ठ लगायतमाथि समेत अनुसन्धान भइरहेको छ ।












