Logo
Logo

डेइटिज अफ नेपालमा ‘प्रलयपछिको श्रृष्टि’ देख्न पाइने (भिडियो)



काठमाडौं । प्रलयपछिको श्रृष्टि कसरी भयो भन्ने जानकारी दिने उदेश्यले ‘डेइटिज अफ नेपाल’ प्रदर्शनी गरिने भएको छ । नेपाल कला परिषदको ६०औँ र नेपाल हस्तकला महासंघको ५० औँ स्थापना दिवसको अवसर पारेर प्रदर्शनी गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

बबरमहलस्थित नेपाल कला परिषदमा एक हप्तासम्म चल्ने प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले आइतबार गर्ने कार्यक्रम छ । परिषदका अध्यक्ष सागर शम्शेर राणाले विभिन्न विधाका कलाकारहरूको सुझावका आधारमा ‘डेइटिज अफ नेपाल’ प्रदर्शनी गर्न लागिएको जानकारी दिए ।

सार्वजनिक–निजी साझेदारी नीतिअनुसार प्रदर्शन गर्न लागिएको उनले जानकारी दिए । उनले भने, ‘यो प्रदर्शनी संयुक्त रुपमा हुँदै छ । नेपाल कला परिषदले फरक काम गरोस भन्ने कलाकारको सुझाव अनुसार प्रदर्शनी गर्न लागिएको हो ।’ भगवान शिव, गणेश, बुद्ध आदिका चित्रकला र विभिन्न जात्रासमेत प्रदर्शनीमा समावेश गरिने भएको छ ।

राणाले नेपाली कलालाई अगाडि बढाउन राजा महेन्द्रको भूमिका उल्लेख्य रहेको स्मरण गराए ।

प्रदर्शनी संयोजक स्वस्ती राजभण्डारीले खुला आह्वानका आधारमा ६ सय नेपाली कलाकारले पठाएको कलालाई छनोट गरेर करिब डेढ सय कला प्रदर्शनीमा राख्न लागिएको जानकारी दिइन । उनले भनिन्, ‘खुला आह्वानका आधारमा ६ सय जना कलाकारको आर्ट आएको थियो । त्यसमध्ये हामीले २७० वटा छनोट गरेका थियौँ । सीमित ठाउँका कारण सबैलाई प्रदर्शनीमा राख्न सकिएन । करिव डेढ सय आर्ट प्रदर्शनीमा राख्दै छौँ ।’

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्डमान शाक्यले कला परिषदसँगको सहकार्यमा प्रदर्शनी गर्न लागिएको बताए । उनले प्रदर्शनीमा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्