Logo
Logo

चिनियाँ विदेशीमन्त्री आइतबार नेपाल आउँदै, राष्ट्रपति सि आउँलान् ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ भदौ ।
चिनियाँ राज्य परिषद् सदस्य तथा विदेश मन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि आइतबार (भदौ २२ गते) काठमाडौं आउने भएका छन्। यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको तयारीका रुपमा लिइएको छ ।


पूर्व निर्धारित नयाँ दिल्ली भ्रमण रद्द गर्दै नेपाल आउन लागेका हुन्। अफगानिस्तानमा जारी शान्ति वार्ताबारे शनिबार पाकिस्तानमा पुगेर कुराकानी गरेर विदेश मन्त्री यी सिधै आइतबार नेपाल आउने पक्का भएको छ ।
चिनियाँ राष्ट्रपति आगामी कात्तिकमा नेपाल आउने सम्भावना छ । कात्तिक १ मा उनी दक्षिण भारत पुग्ने कार्यक्रम छ। उनले त्यहाँ जाँदा वा त्यहाँबाट फर्कंदा नेपाल भमण गर्न सक्ने भएकाले विदेशमन्त्री वाङको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। सी र भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको उहान वार्ताको दोस्रो चरण आगामी कात्तिकमा दक्षिण भारतमा हुँदै छ।
‘विदेशमन्त्री वाङको भ्रमणले नै राष्ट्रपति सीको भ्रमणको आधार तयार पार्छ’, परराष्ट्रका एक भन्छन्, ‘राष्ट्रपति सी केही घण्टाका लागि आउने भनिएको छ। तर नेपाल एक रात अर्थात् दुईदिने भ्रमणको पहलमा जुटेको छ।’ चिनियाँ सुरक्षा टोलीहरू नेपाल आएर भ्रमणबारे जानकारी लिने र छलफल गर्ने गरेका भए पनि सरकारले यसलाई गोप्य राखेको छ। सुरक्षा निकायको एडभान्स टोलीले वार्ता हुने स्थलदेखि विमानस्थलको सुरक्षा अवस्था सबै अध्ययन गरिसकेको छ। टोलीले नेपालको सुरक्षा निकायसँग पनि वार्ता गरेको अधिकारीहरूले बताए।
सीको नेपाल भ्रमण सीमामा सडक र रेल सञ्जाल विस्तारमा केन्द्रित हुने बताइएको छ । यस्तै नेपाल–चीन–भारत त्रिपक्षीय सहकार्यबारे पनि वार्ता हुन सक्ने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्