Logo
Logo

सहकारीको रकम उत्पादनमा लगाउनुस् : मन्त्री अर्याल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माईकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गर्नुभएको छ । नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

सहकारीले अब उत्पादनमा लगानी गर्नुस्भन्दा सहकारी अभियन्ताले सहकारी क्षेत्रलाई बुझ्नुभएन कि भन्ने प्रश्न गरेको भन्दै मन्त्री अर्यालले आफूले सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको समेत बताउनुभयो । ‘सहकारी क्षेत्रलाई मन्त्रीले सहकारी बुझ्नुभएन कि भनेर अभियन्ताले भन्नुहुन्छ । तर मैले मज्जाले बुझेको छु’, मन्त्री अर्यालले भन्नुभयो,‘अबको दिशा समृद्धि, विकासकै दिशा हो । सहकारीको स्रोत उत्पादनमा लगाउनुस् । उत्पादनमा लाग्नुसभन्दा मन्त्रीले सहकारी बुझेन क्या हो भन्ने होइन । उत्पादनका क्षेत्रमा लगानी गरिदिनुस भनेको सहकारीले सहकारीमै लगानी गर्नुस भनेको हो ।’

लगानीको कुरा गरिरहँदा मन्त्री आफँैले किन गरेन भन्ने प्रश्न पनि स्वभाविक रूपमा उठ्ने भएकाले आफूले तीन गाउँको जमीन एकीकृत गरेर कागती खेती शुरू गरिसकेको मन्त्री अर्यालले जानकारी दिनुभयो । ‘मन्त्री आफैंले गरेन भन्ने प्रश्न उठ्ला भनेर मैले त शुरु गरिसके । तीन गाउँका जमिन एकीकरण गरेर कागती लगाउन शुरु गरेका छौँ । यस वर्ष ३० हजार कागती लगाउने योजना रहेको छ’, उहाँले भन्नुभयो । अब हरेकले एउटा उद्यममा लगानी गर्नुपर्ने उहाँको जोड थियो ।

सहकारीले भाषण मात्रै गर्छन् काम गर्दैनन भन्ने प्रश्न पनि उठिरहेको सन्दर्भमा अब भाषण मात्र नभएर काम गर्नुपर्ने उहाँको भनाइ थियो । त्यसैका निम्ति सहकारी संस्थाहरू एकिकृत उत्पादनमा लाग्नुपर्ने मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ’तपाइहरू सबै उत्पादनमा लाग्नुस । सबै अभियन्तालाई बोलाएर एकरएक वटा होमवर्क दिएर पठाउने हो । हाम्रो भूमि खाली भयो । अब भूमिको अधिकतम् प्रयोग गरेर जाने हो ।’

पाठ्यक्रममा सहकारीको विषय उल्लेख हुनुप¥यो भनेर त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिसकेको भन्दै मन्त्री अर्यालले सहकारी क्षेत्रमा केही नयाँ गर्नेगरी सरकार अगाडि बढेको बताउनुभयो । सबै सहकारीमा एकै किसिमको ब्याजदर निर्धारण गर्न सरकारले सन्दर्भ ब्याजदर तोकेको भन्दै उहाँले यसमा अभियन्ताहरूको पनि साथ रहेको बताउनुभयो । केही प्राविधिक कुरा मिलाउनुप¥यो भन्ने सुझाव आएको भन्दै उहाँले यसलाई कार्यान्वयन गर्नेगरी जाउ भनेर अभियन्ताहरूले भनेको बताउनुभयो ।

राज्यको ध्यान सहकारी क्षेत्रमा रहेको भन्दै उहाँले यसलाई व्यवस्थित गर्न कोकोमिस प्रणाली बनाएर गएको बताउनुभयो । भूमिलाई निजी सम्पत्तिको रुपमा स्वीकार गरिसकेपछि अहिलेको अवस्थामा भूमिलाई राष्ट्रियकरण गर्न सम्भव नभएको भन्दै मन्त्री अर्यालले त्यही भूमिको अधिकतम प्रयोग गर्दै जानुपर्ने बताउनुभयो । मन्त्री अर्यालले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेगरी जान पत्रकारहरूलाई आग्रह गर्नुभयो । समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउनेगरी कलम चल्नुपर्ने उहाँको भनाइ थियो ।

दुई पत्रकार पुरस्कृतरसम्मानित
यसैबीच त्यस अवसरमा दुई पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नेपाल सहकारी पत्रकार समाजले स्थापना गरेको ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलियालाई प्रदान गरिएको थियो । त्यस्तैगरी संस्थाका संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको थियो । प्रमुख अतिथी मन्त्री अर्यालले दुवै पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्