Logo
Logo

करैले सुरु भयो भूमिगत जीवन



जब बालाजु औद्योगिक क्षेत्रको पछाडिको बाटो भएर म बाहिर निस्केँ, मेरो लागि त्यो बाटो सधैँका निम्ति बन्द भयो !

मजदुर आन्दोलनसँग जोडिएका साथीहरुमा बिर्सनै नमिल्ने नाम हुन्– कमला श्रेष्ठ र सुभद्रा कोइराला । बाहिर निस्केपछि म सरासर सुभद्राकहाँ पुगेँ, र लुगा फेरेर अर्कै केटीजस्तो भएर बालाजु पछाडिकै बाटो शोभाभगवती–विष्णुमति भएर फर्किँदा बाटामा पुलिसहरु देखिन ।

काठमाण्डौंको एउटा गल्लीभित्रको शेल्टरमा साथीहरुसँग आन्दोलनलाई अगाडि बढाउने कि केगर्ने ? अनि प्रशासनबाट कसरी बच्ने, बचाउने आदि विषयमा छलफल गरेँ । त्यहीबेला थाहा पाएँ– मेरो घर फर्कने बाटो पनि बन्द भैसकेछ । घरको वरिपरी सिभिल ड्रेसमा पुलिस बसेको कुरा साथीहरुले सुनाए । साथीहरुले मलाई घर फर्किन दिएनन् । अब फेरि बस्ने कहाँ ?

नजिककी घनिष्ट साथी थिइन्, पूर्णशोभा । उनको घरमा बस्न मलाई कुनै रोकटोक थिएन । तर उनको घरमा पनि बस्नु ठीक भएन– पुलिसको निगरानी त्यहाँ पनि हुनसक्थ्यो । कसैले शंका गर्न नसकिने ठाउँ खोज्दा सम्झें– पुरानो अध्ययन–समूहका साथी सुमन श्रेष्ठलाई । सुमनका बा कवि दुर्गालाल श्रेष्ठलाई मैले पनि बा सरह नै मान्ने, सुमनकी जीवनसाथी मीरा पनि आफ्नै साथी, अनि घरमा बहिनी सुचिता पनि आफ्नै बहिनी जस्ती भएकोले म त्यहाँ बस्न केही सहज हुन्छ कि भन्ने सोँच आयो ।

बेलुकीपख ठमेलमा सुमनको घरमा पुगें । मलाई राम्रै चिनेको र बुझ्ने घर भएकोले मैले आत्मिय व्यवहार नै पाएँ र बहिनी सुचिताको कोठामा बसें केहीदिन । बाहिर आफ्नो खुसीले हिंड्न र बस्न नपाइने भएपछि करैले सुरु भयो– भूमिगत जीवन ।

यतिबेलासम्ममा मेरो अवस्थामा ठूलै परिवर्तन आइसकेको थियो । औपचारिक, अनौपचारिक गहन छलफलपछि नयाँ पार्टीको सदस्यता नै लिइसकेकोले केही गह्रौँ जिम्मेवारी पनि नै थपिसकेको थियो ।

त्यसबेलाका पार्टीका नेता कार्यकर्ताहरु प्रायः उपत्यका बाहिरका नै भएकाले तीबाट मेरो बस्ने बन्दोबस्त हुने कुरा त थिएन नै । उनीहरु नै काठमाडौंका कार्यकर्ताहरुको भरमा बस्नु पर्ने अवस्था थियो । केही दिन बस्नलाई त खास समस्या भएन ।

सुमन आफै भने नयाँ पार्टीमा गएका थिएनन् । हामीले पनि कर गरेका थिएनौं । विचार उस्तै भएपनि संगठनात्मक रुपले हामी फरक भैसकेका थियौं । त्यसैले पनि लामो समय त्यहाँ बस्न मिल्ने भएन । त्यसैले फेरि अर्को ठाउँको बन्दोबस्त गर्नुपर्यो । साथी शोभा (जमुना)को डेरा ज्याबहालमा मलाई मायागर्नु हुने आमा रामामाया श्रेष्ठ र बहिनीहरुसँगै निक्कै समय बाँकी भूमिगत दिनहरुको अनुभव गरें ।

दुःखको कुरा– मजदुर आन्दोलन त एक किसिमले असफल नै भयो । समयभन्दा अगाडि र बिना तयारी ‘बटनपुस’ गरेर थालिएको आन्दोलनले धेरैको काम–माम नै छुट्ने अवस्था आएको थियो । पछि कारखानाका मालिकहरुले कामगर्ने भए काम गर्न आउ भनेर खबर गरेपछि पनि चार जना बाहेक धेरै काममा फर्किनु नै राम्रो भन्ने भयो । कति फर्के कति फर्कन सकेनन्, त्यो अर्कै कुरा भयो । म भने फर्किन नहुने ती चारभित्र परेँ । अब फर्किनुको कुनै प्रयोजन पनि भएन ।

जुनजुन घरहरुमा बसें, ती ठाउँलाई कहिल्यै बिर्सिन सकिन । राममाया आमा आफैँ आधा पेट बसेर पनि मलाई खाउ कि खाउ भन्नु हुन्थ्यो । मलाई थाहा थियो त्यहाँको आर्थिक अवस्था कति कमजोर छ भन्ने । खाली हात भएकी म समेत थपिएपछि झनै गाह्रो भएको थियो । म बुझ्न सक्थें । तर मजदुर हुन पुगेकी र अहिले त झन् भूमिगत नै भैसकेकी मबाट कसरी सहयोग पुग्न सक्थ्यो र !

पुरै अरुको भरमा बस्नुपर्ने मेरो अवस्था सहज थिएन । निकै लामो दुरी पार गरेर यहाँसम्म आईपुग्दा पनि बेलाबेलामा आफैलाई सोध्छु– आफैले सृजना गरेको त्यो पूर्ण परनिर्भरताको स्थिति ठीक थियो कि थिएन ? भनेर । कम्युनिष्ट भएर जनताबाट केही नलिनु भन्ने पाठ सिकेका थियौँ । जनताको सेवा गर्ने भावनाबाटै अगाडि बढेका थियौँ । साथीकै घरमा पनि सित्तै खान सजिलो लाग्दैनथ्यो । यो त भोग्नेलाई मात्र थाहा हुन्छ ।

बरु जोगी वा भिक्षुको कपडामा भए भिक्षामा बाच्न पनि सहजै होला । अलिकति पनि स्वाभिमान भएको मान्छेलाई सकेसम्म अरुको केही नखाउँ भन्ने सोच हुन्छ । त्यस्तालाई झनै गाह्रो हुने रहेछ । तर कसैको भने कामगरेर खाने बानी नै बनेको पनि हुँदो रहेछ । अहिलेका कतिपय वामपन्थी नेताहरु त्यो बाटोमा धेरै लामो समय हिँडेर आएकोले पो कतै ‘अरुको भए सित्तै खाउँ, आफूले कसैलाई केही नदिउँ’ भन्ने प्रवृति हुर्केको त हैन ?

अरुको कामको जस पनि आफै बटुलुँ भन्ने समेत देखिंदै आयो पछिपछि त ! आफ्नो छाक काटेर खुवाउने, आफ्नै ज्यान खतरामा पारेर बचाइदिने करुणाका खानी ती शेल्टरदाताको नामसमेत भुल्दै गए नेताहरुले । यो एउटा नराम्रो रोगको बीऊ संगठनमा उहीबेला नै रोपिइसकेको रहेछ । त्यसैले पनि साँच्चैका मजदुर, किसान कार्यकर्तालाई टाठाबाठा नेताहरुले आफू तर्नका निम्ति पूलका रूपमा प्रयोग मात्र गरे । कत्तिमा त लाज भन्ने कुरा पनि बाँकि रहेन । तर यो मैले यहाँ लेख्नुपर्ने कथा होइन ।

मेरो विगतबारे केही थाहा पाएका एकजना विदेशी मित्रले भर्खरै जस्तो बडो गम्भीर भएर सोधेका थिए– ‘अब त प्राय आफ्नै साथीहरु त होलान् नि–सरकार चलाउनेहरु पनि ! उहिलेजस्तै सहयोग गर्दैनन् ?’ मैले भनेँ– ‘त्यो बेला पनि उनीहरुबाट सहयोग पाउने हैन, बरु आफैले सहयोग गर्नुपथ्र्यो– जस्तोसुकै अप्ठेरोमा पनि । जब उनीहरुलाई सजिलो हुनथाल्यो, उनीहरुलाई कहिल्यै केहिले पुगेन । अबका नयाँ ‘नेता’ र ‘कार्यकर्ता’लाई त थाहा नै छैन मेरो कथा, पुरानाहरुले नामसमेत सम्झिन चाहँदैनन् । उनीहरुबाट के सहयोगको आशा राख्ने ? कोहीसँग केही आशा गरेर आन्दोलनमा लागेको पनि त होइन नि !’

मान्छे चिन्ने मौका पनि रहेछ त्यो । त्यतिबेलाका इमान्दार साथी सहयोगीहरुलाई कहिल्यै बिर्सेको छैन । असल हृदय भएका मान्छेहरु सम्झँदा पनि सन्तोष थपिन्छ । आफुले सकेको बेला अरुलाई सहयोग गरेकोमा, आदर्शका निम्ति विभिन्न अप्ठेरो झेल्नु परेकोमा कुनै ग्लानी पनि छैन । जीवन भन्नु नै अनुभव र अनुभूतिकै कथा त हो !

तर अनुभव र अनुभूतिले लामो समयसम्म मानिसका व्यवहारलाई प्रभावित पारिरहन्छन् । अनि ती व्यवहारले समाजलाई प्रभावित पारिरहन्छन् । त्यसैले, अहिले जे भइरहेको छ समाजमा, त्यसलाई बुझ्न उबेलाको भूमिगत जीवनका सकारात्मक र नकारात्मक कथामा फर्कनै पर्छ होला । ती कथा अझै बाँकि नै छन्…।

प्रतिक्रिया दिनुहोस्