Logo
Logo

बागमती प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत, कसको नेतृत्वमा बन्ला सरकार ? 



काठमाडौं । बागमती प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत पुग्ने निश्चित भएको छ । हालसम्म सार्वजनिक भएको आँकडा हेर्दा बागमतीमा सत्ता गठबन्धनको सरकार बन्ने देखिन्छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बागमती प्रदेशका दोलखा बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । दोलखाका १० मतदानकेन्द्रमा भने यही १५ गते पुनः मतदान हुँदैछ । 

बागमती प्रदेशमा यसपटक नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रदेशसभामा प्रत्यक्षबाट कांग्रेसले २४ सिटमा जित हासिल गरेको छ । 

प्रत्यक्षतर्फ सत्ता गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ । माओवादीले १४ सिटमा जित हात पारेको छ । बागमतीमा नेकपा एमाले भने तेस्रो भएको छ । एमालेले १२ सिटमा जित हात पारेको छ । 

त्यस्तै एकीकृत समाजवादी ५, राप्रपा ७, नेमकिपा १ र स्वतन्त्रले १ सिट प्रत्यक्षतर्फ जितेका छन् । यसमा अब समानुपातिकतर्फको सिट थप हुनेछ ।

अहिले बागमती प्रदेशमा समानुपातिकतर्फको मत गणना भइरहेको छ । समानुपातिकमा हालसम्म नेकपा एमाले अगाडि छ भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राप्रपा र चौथोमा माओवादी केन्द्र छ । 

आज (सोमबार) साँझ ५ः३० बजेसम्म समानुपातिकतर्फ एमालेले ४ लाख ८० हजार ७ सय ५३ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ४ लाख ८ हजार ३ सय ५७ मत पाउँदा राप्रपाले २ लाख ५३ हजार ३ सर ५० मत पाएको छ । 

यसैगरी माओवादी केन्द्रले २ लाख ३० हजार ५ सय ३२ मत पाएको छ । पाँचै स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले ६५ हजार मत पाउँदा नेकपा एकीकृत समाजवादीले ४८ हजार ७ सय ६८ मत पाएको छ । 

बागमती प्रदेशका ११० सिटमध्ये सरकार बनाउन ५६ सिट आवश्यक आवश्यक हुन्छ । प्रत्यक्षतर्फबाट नै सत्ता गठबन्धनको ४३ सिट भइसकेको छ । सरकार बनाउन अब सत्ता गठबन्धनलाई १३ सिटको खाँचो छ ।

अहिलेसम्मको मतपरिणाम हेर्दा समानुपातिकबाट सत्ता गठबन्धनलाई कम्तिमा १७ सिट आउने देखिन्छ । समानुपातिकतर्फ सत्ता गठबन्धनको पक्षमा ४३ प्रतिशत मत प्राप्त भएको छ । 

यस आधारमा  बागमतीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र  र एकीकृत समाजवादीको सरकार बन्ने निश्चित देखिन्छ । 

नेपाली कांग्रेसबाट पार्टी प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रबाट हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल र एकीकृत समाजवादीबाट हालका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश सभाको पहिलो दल भएका कारण कांग्रेसले मुख्यमन्त्रीको दावी गर्नेछ । हाल सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् । 

एमालेको सरकार ढालेर नयाँ बनाउने समयमा नै आधाआधा गर्ने सहमति भएको दावी कांग्रेसले गरे पनि समाजवादीले सरकारमा निर्वाचनसम्मै बस्ने अडान लिएको थियो । त्यसैले यसपटक बागमतीमा कांग्रेसले आफ्नो नेतृत्वको सरकार दाबी गर्ने देखिन्छ । मुख्यमन्त्रीमा बानियाँले दाबी गर्दै आएका छन् ।

दोस्रो दल माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गर्ने देखिन्छ । प्रदेशको मुख्यमन्त्रीका दावेदारका रुपमा रहेका माओवादी नेता जम्कट्टेल धादिङ १ (ख) बाट विजयी भएका छन् । यता, एकीकृत समाजवादीबाट मुख्यमन्त्रीका दावेदार शर्मा खनालले चितवन-१ (ख)बाट निर्वाचित भएका छन् । उनले पनि मुख्यमन्त्री आफूले दाबी गर्ने बताउँदै आएका छन् ।

यी ३ मध्ये को मुख्यमन्त्री हुने भन्ने विषय गठबन्धनको भागबण्डासँग जोडिएको छ । बागमतीमा आगामी गठबन्धनको सरकार कांग्रेसको बानियाँले नेतृत्व गर्ने वा कार्यकाल बाँडफाँड गर्ने भन्नेबारे गठबन्धनको शीर्ष नेतृत्वले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्