Logo
Logo

गृहमन्त्रीले छुन नसकेका पाँच सिडिओ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० भदौ ।
सामान्यतया १/१ वर्षमा सिडिओको सरुवा हुन्छ । गृह मन्त्रालयले यो वर्ष पनि सबै जिल्लाका सिडिओहरुको हालै हेरफेर गरेको छ । तर, सिडिओ सरुवामा केही अनौठो देखिएको छ । एक वर्ष पुगेपनि केही ‘पावरफुल’ सिडिओहरुलाई निरन्तरता दिएको छ ।


त्यसरी सरुवा रोक्न सक्नेमा पाँच जना सिडिओ छन् । जसमा भक्तपुरका नारायण प्रसाद भट्ट, चितवनका जितेन्द्र बस्नेत, स्याङजाका कोशहरी निरौला, गुल्मीमा यदुनाथ पौडेल र बर्दियाका रामबहादुर लिम्बु कुरुमवाङ हुन् । उनीहरु पाँचै जनाको कार्यकाल करिब १५ महिना पुगिसकेको छ । तर, जिल्लाका माफिया तथा शक्तिकेन्द्रहरुको सेटिङमा उनीहरुको सरुवा हुन सकेन ।
गृह प्रशासनको इतिहासमा यस्तो विकृती पहिलो पटक देखिएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । विगतमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाकै कारण यस्तो भएको थियो । उनले आफु निकट सिडिओ गणेश कार्कीलाई दुई कार्यकाल मोरङमा राखेका थिए । जून विषय निकै विवादित समेत बनेको थियो ।
यसरी थमौती गरिएकमध्ये स्याङजाका निरौला र बर्दियाका कुरुमवाङ त उपसचिव हुन् । उपसचिवलाई ६ महिनाभन्दा लामो समय कुनै पनि कार्यालयको कायममुकाय दिन नमिल्ने निजामती सेवा ऐनमा व्यवस्था छ । तर, कानून मिचेर १५ महिनादेखि उनीहरुलाई सहसचिव हुने जिल्लामा कामु सिडिओको जिम्मेवारी दिइएको छ ।
चितवनका बस्नेत प्रचण्ड परिवारलाई रिझाएकाले त्यही बस्ने अवसर पाएका हुन् । त्यस्तै गुल्मीका पौडेलको परराष्ट्रपति प्रदीप ज्ञवालीमार्फत त्यही बस्न दबाब दिएका थिए । बर्दियाका लिम्बु र स्याङजाका निरौलालाई गृहसचिवको आशिवार्द रहेको स्रोत बताउँछ ।
त्यसो त यसपटकको सिडिओ सरुवामा पनि कामुको बिकृती हटेन । पाँच जिल्लामा उपसचिवलाई कामु सिडिओ बनाएर खटाइएको छ । धनकुटा, सप्तरी, महोत्तरी, काभ्रे र पाल्पामा उपसचिवलाई कामु दिएर खटाइएको छ । धनकुटामा डा कृष्ण प्रसाद घिमिरे, सप्तरीमा सुनिल खनाल, महोत्तरीमा सूर्यबहादुर खत्री, काभ्रेमा श्रवण कुमार तिमल्सिना र पाल्पामा उमेश कुमार ढकाललाई कामु सिडिओका रुपमा खटाइएको छ । हाल करिब दुई दर्जन जिल्लामा उपसचिवलाई कामु बनाएर सहसचिव हुने जिल्लामा खटाइएको छ । उपसचिवहरुको चलखेलका कारण गृहमा यस्तो विकृती भएको हो । गृहमन्त्रीलाई समेत थाहा नदिई उनको सचिवालय र एक विचौलिया समूहले यसरी सिडिओ सरुवामा चलखेल गर्दै आएको छ । चलखेलकै कारण सिडिओ सरुवा झन्डै एक महिना रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्