Logo
Logo

करिब ९ लाख मत गन्न बाँकी, एकीकृत समाजवादी राष्ट्रिय दल बन्ला ?



काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आउनेक्रम जारी छ ।
प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ बुधबार बिहानसम्म १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । अब ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ ।

साथै, समानुपातिकतर्फ पनि परिणाम आउनेक्रम जारी छ । सोक्रममा बुधबार बिहान १० बजेसम्ममा एक करोड १२ हजारभन्दा बढी मतगणना भइरहेको छ । अहिलेसम्म नेकपा एमालेले २६ लाख ९७ हजार ६६४ कमत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा छ ।

यस्तै, कांग्रेसले २५ लाख ५५ हजार १५९ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ४१ हजार २७३ मतका साथ तेस्रो स्थानमो छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७८९ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ३०४ मत पाएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७ मत र जनमत पार्टी ३ लाख ४९ हजार ३५२ मत पाएको छ ।

यी माथिको ६ दलले थ्रेस होल्ड कटाएपनि अन्य केही दललाई भने थ्रेस होल्ड कटाउन मुश्किल देखिन्छ । पार्टी गठन भएपछि पहिलोपटक आम निर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीलाई थ्रेस होल्ड कटाउन धौधौ भएको छ ।

एक करोड बढी मत गनिसक्दा एकीकृत समाजवादीेले २ लाख ८२ हजार २६२ मत पाएको छ । एकीकृत समाजवादीले राष्ट्रिय दल बन्नका लागि अझै १८ हजारभन्दा बढी मतको आवश्यक छ । तर, केही निर्वाचन क्षेत्रमा मतगणना बाँकी रहेको र जारी मतगणनाका कारण पनि एकीकृत समाजवादीले राष्ट्रिय दल बन्नेमा आशावादी नै छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ५९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५७ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।

निर्वाचन आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातामध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाखको हाराहारीमा मत खसेको थियो ।

निर्वाचनका आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार अझै ९ देखि १० लाख मत गन्न बाँकी छ । अहिले सुनसरीको मतगणना भइरहेको भन्दै उनले तराइका केही जिल्लामा मत गन्न बाँकी रहेको बताए । त्यस्तै, बाजुरा र स्याङ्जामा अझै मत गन्न सुरु हुन सकेको छैन । दोलखाका केही १० केन्द्रमा भने पुनः मतदान हुन बाँकी छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ । त्यसका लागि प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख मत कटाउनले दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्