Logo
Logo

बायनाको जितसँगै सेरेनाको सपना चकनाचुर


- दृष्टि न्युज/संवाददाता


न्यूयोर्क, २२ भदौ (एजेन्सी) । क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौँपटक उपाधि जित्ने सपना अधुरै रह्यो । सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्क्स्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितिन् । बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।
क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो । सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो ।
सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । बच्चाकी आमा सेरेनाको दुई वर्षअघि टेनिस खेलमा पुनरागमन भएको थियो । सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छिन् । खेलमा पराजित भएपछि बोल्दै सेरेनाले म रेकर्ड बनाउनकै लागि खेलिरहेकी छैन भन्दै भनिन्, ‘आजको खेलमा मैले राम्रो खेल्न सकिनँ । मैले अझ राम्रो खेल्न सक्थें ।’ विजयी एन्ड्रेस्कुले सेरेनासँग टेनिस खेल्न पाउनु आफ्ना लागि अहोभाग्य रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्