काठमाडौं । नेकपा माओवादी केन्द्रका दुईजना पोलिटब्युरो सदस्यमाथि कारबाही गर्न सिफारिस गरिएको छ । हालै सम्पन्न आम निर्वाचनमा अन्र्तघात गरेको भन्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय अच्युतम काफ्ले र रामेश्वर राय यादवलाई कारबाहीका लागि माओवादी केन्द्र हरिवन, बागमती र बहरथवा नगरसमितिले मधेश प्रदेश समिति र केन्द्रलाई छुट्टाछुट्टै सिफारिस गरेको हो ।

पोलिटब्युरो सदस्य काफ्ले माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्ज हुन् भने अर्का पोलिटब्युरो सदस्य राय पूर्वमन्त्री र सर्लाही–३ का निवर्तमान सांसद हुन् ।
तर, यस पटकको निर्वाचनमा उनीहरुले अन्तर्घात गरेपछि सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलबार पराजित भएको पार्टीका स्थानीय समितिको निष्कर्ष छ ।
काफ्ले र रायले एमाले उम्मेदवारसँग मिलेमतो गरेर पार्टीका उम्मेदवार साहलाई हराउन भूमिका खेलेको पुष्टि भएपछि उनीहरुलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटीका एक सदस्यले बताए ।
निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार साह एमालेका नेता हरि उप्रेतीसँग हारेका थिए । उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा कलवारले ३२ हजार १६८ मत ल्याएका थिए ।
माओवादीको स्थानीय कमिटीले काफ्ले र रायसँगै माओवादी नेता राजकुमार यादवले पनि साहलाई हराउन भूमिका खेलेको निष्कर्ष निकालेको छ । तर, यादवविरुद्ध कारबाहीको सिफारिस गरिएको छैन । माओवादीका कुनै पनि समितिमा नभएकाले उनलाई कारबाहीको सिफारिस नगरिएको बताइएको छ ।














