Logo
Logo

अमलेखगञ्जमा पाइपबाट डिजेल झर्‍यो, ओली र मोदीले गरे उद्घाटन


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौ, २४ भदौ ।
भारतबाट नेपालमा पाइपबाट इन्धन आयात हुन थालेको छ । अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।


दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गरेका हुन् ।

भिडियो कन्फरेन्सिङमार्फत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा परियोजनाको उद्घाटन गरिएको हो । इलेक्ट्रिक स्विच थिचेर उद्घाटन गरेसँगै पाइपमार्फत अमरेलखगञ्जमा डिजेल झरेको थियो ।

वि.स २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार पाइपलाइन निर्माण भएको हो । पाइपलाइनको २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्विच थिचेर शिलान्यास गरिएको थियो ।

७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । अहिलेसम्म भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।

पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने निगमले जनाएको छ । यसले इन्धन ढुवानीको खर्च जोगाउने छ ।

प्रतिक्रिया दिनुहोस्