Logo
Logo

शहरमा ‘संस्कारी केटा’को खोजी



बिहेको चर्चा नगरी मसिंरजस्तै नलाग्ने ! तर, यो पटक मंसिर लाग्नसाथ निर्वाचन लाग्यो । त्यसमा थपियो विश्वकप । त्यसैले यो मंसिरमा बिहेको चर्चा खासै भएन । बाटामा भाँचिएका सिमकार्डहरू पनि त्यति भेटिएनन् ! तर, मंसिर हो । बिहेको चर्चा हुँदै नहुने भन्ने हुँदैन ।

काठमाडौंको एक खाजाघर । चार–पाँच जनाको समूह । सबै २५–२६ वसन्त पार गरिसकेका । चार–पाँच जनाको समूह पनि दुई समूहमा विभाजित । एक समूह वल्लो टेबुलमा र अर्को पल्लोमा । विषय एउटै, मंसिरको ।

एउटा हातमा चिया । अर्को हातमा सल्किरहेको चुरोट । पृष्ठभूमिमा बजिरहेको गीत । चुरोटबाट फुस्किएर नाचिरहेका धुँवाहरू । पल्लो टेबुलकाले चुरोटको धुँवा फुस्स उडाइन् । चियाको एक चुस्की लगाइन् । र, भनिन्– ‘मलाई त संस्कारी केटा चाहिन्छ ।’

वल्लो र पल्लो टेबुलका एकअर्काबीच हेराहेर । मुन्टो पछाडि फर्काए । गणेश हिमाल मुस्कुराइरहेको रहेछ । त्यही हिमालको मुस्कान सापटीले लिएर प्रतिक्रिया जनाए ।

एउटा हातमा चिया । अर्को हातमा चुरोट । पृष्ठभूमिमा बजिरहेको गीत । चुरोटबाट फुस्किएर नाचिरहेका धुँवाहरू । पल्लो टेबुलकाले चुरोटको धुँवा फुस्स उडाइन् । चियाको एक चुस्की लगाइन् । र, भनिन्– ‘मलाई त संस्कारी केटा चाहिन्छ ।’

मसँगै बसेका साथी सहज थिइन । मनमा लागेको सहजै बोलिन्– ‘आफूचाहिँ चुरोटे, केटाचाहिँ संस्कारी चाहियो रे !’ प्रतिक्रिया दिन फेरि गणेश हिमालको सहयोग लिन पर्यो ।

उनको भनाइ भुइँमा खस्न नपाउँदै पल्लो टेबुलका मान्छेबाट प्रतिक्रिया आयो– म जेसुकै भएपनि तिमीलाई के खाँचो ? अनि मलाई कस्तो केटा मनपर्छ भन्ने मेरो च्वाइसको कुरा हो । केटाहरूले संस्कारी केटी खोज्न पाउँछ भने हामीले पनि संस्कारी केटा खोज्न किन नपाउने ? कस्तो कुरा गर्या होला !

दुई टेबुलका मान्छेबीच कुरै मिलेन । नौ बजेको समाचार बनाउनु छ भनेर हिडेँ । ‘मान्छे पनि कस्ता कस्ता हुन्छन्’ भन्दै भनभनाउँदै सँगै बसेकी साथी पनि आइन् । जमाना यस्तै हो भनिदिएँ ।

‘संस्कारी केटी चाहिन्छ’ भनेको बारम्बार सुन्दै आएको छौँ । तर, संस्कारी केटा चाहिन्छ भनेको कमै सुनेका छौँ । त्यसैले संस्कारी केटाको प्रसंग कम हुन्छ ।

अभिभावक संस्कारी बुहारी खोज्छन् । कस्ती बुहारी पर्ने हो ? संस्कारी छ कि छैनन् ? हाम्रो इज्जत नराख्ने पो हो कि ? यस्तैयस्तै कुराले त्रसित हुन्छन् । त्यसैले पढेलेखेको भन्दा संस्कारी छ कि छैन भन्नेमा महत्व हुन्छ ।

बुहारी जति नै ठूलो पदमा होस्, डाक्टर, इन्जिनियर जे होस्, उसले महिनामा लाखौँ रुपैयाँ कमाओस्, सासू–ससुराका लागि त्यो मतलबको कुरा हुँदैन । बुहारी कति संस्कारी छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । घरमा कस्तो व्यवहार गर्छन् ? घरको काम जानेका छन् कि छैनन् ? यावत् कुराहरू हेर्ने गरिन्छ ।

तर, हुनेवाला ज्वाइँको भने राम्रा, नराम्रा कुनै पक्ष केलाइँदैन । छोरीलाई पाल्न सक्छ कि सक्दैन ? आर्थिक हैसियत कस्तो छ ? के काम गर्छन् ? यही हेरेर विवाह गरिदिन्छन् । तर, संस्कारी ज्वाइँ भनेर खास हेरिँदैन । धुमपान र मद्यपान पो अधिक गर्छ कि, कतै गुण्डागर्दी पो गर्छ कि ! उसको व्यवहार कस्तो छ ? लगायतका प्रश्नको जवाफ खोजिँदैन ।

त्यसैले संस्कारी केटा खोज्न थाल्नु भनेको राम्रो पक्ष हो । संस्कार त केटा होस् या केटी सबैलाई चाहिन्छ । तर, यहाँ संस्कारको कुरामात्रै नभएर अर्को गम्भीर पक्ष भनेको धुमपानको तल हो । आजभोलि होटल, रेस्टुरेन्ट, कफीशप होस् वा चिया पसल, अचेल हुक्का तान्ने, धूमपान गर्ने युवायुवती र किशोरकिशोरी बग्रेल्ती भेटिन्छन् ।

‘एक सर्को दुनियाँ अर्को’ भन्ने थुप्रै छन् । सर्कोमा मग्न हुने फेसन नै चलेको छ । ‘चिचु (चिया–चुरोट) खाऊँ न’ भन्नेको जमात ठूलो छ । अचेल हातमा चुरोट नहुने निक्कै कम भेटिन्छन् । कसैलाई ‘म पनि बबाल छु’ भनेर देखाउनका लागि भएपनि चुरोट तान्नु परेको होला !

यो मामिलामा किशोरीहरूको पनि डरलाग्दो उपस्थिति छ । उनीहरूले चुरोटलाई स्वतन्त्रताको प्रतीकसम्म मान्ने गरेका छन् । शहरका किशोरकिशोरी र युवालाई निकोटिनले आफ्नो कब्जामा पारिरहेको छ । युवा पुस्तामा चुरोटको अम्मली बढ्दै गएको छ ।

जगजाहेर छ– चुरोट मोहिनी अम्मल हो । चुरोटको अगाडि धेरै अम्मली नतमस्तक हुन्छन् । धुमपानको नशामा डुबिसकेपछि त्यसबाट मुक्ति हुन धेरैलाई गाह्रो पर्छ ।

कतिपयले ख्यालठट्टामा भन्ने गर्छन्– ‘बरु ब्वायफ्रेन्ड वा गर्लफ्रेन्ड छाड्न सकिएला तर चुरोट छाड्न सकिन्न ।’

चुरोटका हानीबारे नजान्ने को होला ? तैपनि, धुवाँको लतले गाँजेका मान्छेहरू असंख्य छन् । चुरोट पिउने महिला होस् वा पुरुष, दुवैको स्वास्थ्यमा गम्भीर समस्या आउँछ नै ।

चुरोटले प्रजनन स्वास्थ्यमा सीधै असर पार्ने विभिन्न अध्ययनले देखाइसकेको छ । किशोरीमा चुरोटको लतले प्रजननसम्बन्धी समस्या ज्यादा हुने चिकित्सकले बताउँदै आएका छन् । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण धूमपान नै भएको निष्कर्ष छ । किशोरावस्थाबाटै चुरोट तान्न थालेका महिलामा बाँझोपन आउने खतरासमेत चिकित्सकको भनाइ छ ।

चिकित्सकहरुका अनुसार चुरोट पिउने भनेको दीर्घरोग र मृत्युलाई स्वागत गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार धेरै देशमा धूम्रपानमा पुरुषलाई महिलाले उछिनिसके । बढ्नेक्रम महिलाको बढी छ । महिलालाई लक्ष्य गरेर विज्ञापन बनाइरहेका छन्, चुरोट कम्पनीहरूले पनि । फेसन, मनोरञ्जन वा अन्य विभिन्न कारणले शहरी युवतीमा चुरोट संस्कृति मौलाएकाके देखिन्छ ।

हुन त चुरोट तान्नु–नतान्न व्यक्तिगत कुरा होला । संस्कार भएको केटा वा केटी खोज्नु पनि व्यक्तिगत कुरै हो । तर, संस्कार खोलामा बगाएर मुहानमा खोज्नुचाहिँ मूखर्ता हो ।

प्रतिक्रिया दिनुहोस्