
काठमाडौं । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सिट पाएको छ ।
समानुपातिकमा पाएको १४ सिटमा माओवादीले जम्मा २ जना मात्र पुरुष पठाउन पाउने छ । महिलाको प्रतिनिधित्व ३५ प्रतिशत पुर्याउनुपर्ने बाध्यताका कारण माओवादीले बाँकी सबै महिला पठाउनु पर्ने छ ।
समानुपातिकतर्फ माओवादीबाट दुई जना मात्र पुरुष प्रतिनिधिसभा सदस्य हुने भएपछि माओवादीले निर्णय गर्न सकेको छैन । तर, दुई मध्ये एकजना सदस्याको नाममा भने सहमति जुटेको छ ।
माओवादीमा सहमति जुटेअनुसार नेता हितराज पाण्डे समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य हुने भएका छन् । माओवादीले खसआर्यबाट पाण्डेलाई पठाउने सहमति जुटाएको हो । अर्का एक सदस्यको नाममा भने सहमति जुट्न सकेको छैन ।
माओवादीले आदिवासी जनजातितर्फ ४, खस आर्यतर्फ ४, दलित २, मधेशी २, थारु १ र मुस्लिमतर्फबाट १ जना पठाउनुपर्छ ।
माओवादीले आयोगमा पठाएको बन्द सूचीमा पुरुषतर्फ आदिवासी जनजातिमा अजम्बर राई, खस आर्यमा हितराज पाण्डे, थारूमा सुनिलकुमार भगत, दलितमा रणेन्द्र बराली, मधेसीमा रामेश्वर राय यादव र मुस्लिममा हकिकुल्लाह खाँ पहिलो नम्बरमा छन् ।














