Logo
Logo

तीन सातापछि नेकपाको सचिवालय बैठक बस्दै, सुध्रिएला ओली– नेपाल सम्बन्ध ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ भदौ ।
करिब तीन सातापछि नेपाको सचिवालय बैठक बिहीबार बस्ने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि रोकिएको पार्टी एकता टुंग्याउने विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा नेकपाभित्र केन्द्रीय निकायका रूपमा रहेका निर्वाचन, लेखा, अनुशासन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतको नेतृत्व लगायतका विषयमा छलफल हुने छ ।


पोलिटब्युरो गठनलगायतका एजेन्डा पनि थाती छन् । प्रधानमन्त्री ओली भदौ ५ मा सिंगापुर गएपछि अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा एउटा बैठक बसेको थियो । बैठकले एकता प्रक्रियामा जोडिन आएका नेत्रविक्रम चन्द समूह र नयाँ शक्ति पार्टीका नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्नेबाहेक अन्य निर्णय गरेन ।

प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्केपछि अर्का अध्यक्ष दाहालसँग दिनहुँ छलफल गरिरहेका छन् तर अर्का बरिष्ठ नेता माधव कुमार नेपालसँग ओलीको संवाद भएको छैन ।
सिंगापुर जानुअघि बैठकमै ओली र नेपालबीच भनाभन भएको थियो ।
स्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन ।
दुई साताको उपचारपछि स्वदेश फर्किएको चार दिनसम्म पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट भएको छैन । शुक्रबार फर्किएका ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने चारपटक भेटवार्ता गरिसकेका छन् । सचिवालयका अरू नेताले पनि ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे चासो राख्दै शुभकामना व्यक्त गरेका छन् ।

५ भदौको बैठकमा आफूले दिएको स्वास्थ्यलाभको कामना ओलीले फिर्ता गरेको भन्दै अहिलेसम्म पनि नेपालले असहज महसुस गरेका छन् । सो बैठकमा ओलीले नेपालबाट स्वास्थ्यलाभको शुभकामनासमेत नलिँदा तिक्तता बढेपछि प्रचण्ड, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलले बीचैमा हस्तक्षेप गरेका थिए ।

‘उहाँ (केपी ओली)ले नै स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भन्दै फिर्ता गरिसकेपछि फेरि जबर्जस्ती घरमै पुगेर अहिले कस्तो छ भन्नु त्यति राम्रो हुने कुरै भएन,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘फेरि पुरानै कुरा दोर्होयाएर मैले उतिवेलै शुभकामना चाहिँदैन भनेको थिएँ, किन आउनुर्पयो, चासो राख्नुर्पयो भन्ने अमिलो जवाफ आयो भने के गर्ने ? त्यसैले उहाँहरूबीच संवाद हुन नसकेको हो ।’ बिहीबारको बैठक दुई नेताबीचको सम्बन्ध सुधारमा पनि केन्द्रीत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्