Logo
Logo

प्रधानसेनापतिको घोषणाले करोडपति जर्नेलहरु संकटमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ भदौ ।
संस्थागत भ्रष्टाचार आरोप झेल्दै आएको राज्यको एउटा निकाय नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति सार्वजनिक गर्दै सेनामा व्यापक सुधारको घोषणा गरेका छन् । यसले बाहिर त ठूलै तरंग ल्याएको छ सेनाभित्र भने धेरैलाई यसले संकटमा पारेको छ ।
खासगरी करोडौं सम्पति भएका जर्नेलहरु समस्याा परेका छन् । आफ्नो सम्पति सार्वजनिक गर्दै प्रधानसेनापति थापाले अरुलाई पनि सम्पति सार्वजनिक गर्न आग्रह गरेपछि जंगी अड्डीमा हल्लीचल्ली मच्चिएको हो ।

“नेपाल सराकारको नीतिअनुसार हामीले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ र आवश्यक पर्दाभन्दा बाहेक यो गोप्य रहन्छ,“ उनले भने, “बाध्यता छैन, स्वतस्स्फूर्त रूपमा राख्न चाहनुहुन्छ भने तपाईँहरूले सेनाको वेबसाइटमा आफ्नो सम्पत्ति विवरण राख्न सक्नुहुन्छ।“

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विगतमा प्रधानसेनापतिले यसरी आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको आफूलाई थाहा नभएको बताए।

उनले प्रधानसेनापतिको पछिल्लो घोषणासँगै अब नेपाली सेनाका रथी तथा अधिकृतहरूको सम्पत्ति विवरण सैनिक अभिलेखालयबाहेक मातहतका एकाइका कमान्डरहरूले पनि राख्ने  जानकारी दिए।

नेतृत्व सम्हालेको एक वर्षको अवसरमा मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा थापाले पूर्ण रूपमा आर्थिक अनुशासन कायम गरी संस्थागत सुधारको प्रतिबद्धता व्यक्त गरेका हुन् । आफ्नो सम्पत्ति सार्वजनिक गरी अन्य सैनिक अधिकारीलाई पनि सम्पत्ति सार्वजनिक गर्न उनले आग्रह गरे । सेनालाई पारदर्शी बनाउने अभियानअन्तर्गत सम्पत्ति सार्वजनिक गरिएको उनको भनाइ छ । सेनाका प्रधानसेनापतिले पहिलोपटक यसरी सम्पत्ति सार्वजनिक गरेका हुन् ।
प्रधानासेनापतिको आग्रह मान्यौं भनेर आफ्नो करोडौं सम्पतिको पोल खुल्ने नमानौं भनेर प्रधानसेनापतिको नजरमा नकारात्मक सूचिमा पर्ने डर जर्नेलहरुलाई छ । खासगरी सेनाबाट अकुत कमाएकाहरु धर्मसंकटमा परेको स्रोत बताउँछ ।

सञ्चारमाध्यम र सिनियर सैनिक अधिकारीलाई राखेर गरिएको प्रधानासेनापतिले सम्बोधनमा उनले सेनाभित्र पारदर्शिता कायम गरी निश्चित पद्धतिमा अघि बढाउने घोषणा गरे । लोकप्रियताका लागि नभई प्रणालीगत रूपमै सुधारका लागि आफूले कदम चालेको थापाको भनाइ छ ।

प्रधानसेनापतिको एउटा मात्र घर ?

सार्वजनिक विवरणअनुसार प्रधानसेनापतिको काठमाडौं–२६ मा आठ आना दुई पैसा दुई दाम जग्गामा बनेको उनको एउटा घर छ । जुन घर आमाबाट बकसप्राप्त भएको उनले उल्लेख गरेका छन् । काठमाडौं, लमजुङ र नवलपरासीमा गरेर उनका ६ ठाउँमा जग्गा छन् । काठमाडौं–२६ मा थप दुई आना, लमजुङको बेँसीसहरमा १२ रोपनी, काठमाडौं–४ मा चार रोपनी ११ आना चार पैसा जग्गा छ ।

नवलपरासीको कोल्हुवामा १२ कट्ठा, लमजुङको बेँसीसहरमा एक रोपनी एक दाम जग्गा उल्लेख गरेका छन् । उनीसँग करिब ३८ लाख मूल्यबराबरको ५५ तोला सुन र एक लाख रुपैयाँबराबरको ५९० तोला चाँदी, हीरा र सुनका औँठी छन् । सुन, चाँदी पैतृक र श्रीमतीले खरिद गरेको उनले जनाएका छन् ।

उनको बैंक खातामा अमेरिकन डलरसमेत गरेर २३ लाख बचत छ । ऋण करिब ८० लाख रुपैयाँ उल्लेख गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा १६ लाख ६१ हजार ९९८ रुपैयाँ, सोही बैंकमा पाँच हजार ९७० अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा ४२ हजार २९८ तथा मेघा बैंकमा रहेको श्रीमतीको नाममा रहेको खातामा ५० हजार रुपैयाँ छ ।
प्रधानसेनापतिको पारदर्शीताले राज्यको अन्य निकायमा बसेकाहरुलाई समेत नैतिक दबाब भएको छ । सबैले प्रधानसेनापति थापाको कदमको प्रशंसा गरेका छन् । उनले साँच्चिकै सेनामा सुधारको काम गरेको भन्दै प्रशंसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्