Logo
Logo

डनसँग मिलेर गृहमन्त्रीका भाईको फिरौती धन्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ भदौ
अपराधिक समूहका नाइके समिरमान बस्नेतलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै भाई नरेश थापा मगरले साथ दिएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बस्नेत र थापा मगरसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
केही दिनअघि सिआईबीले थापा मगरलाई पक्राउ गरेको हो । अपराधिक लाभसम्बन्धि मुद्दा जिल्ला अदालतमा दायर भइसकेको सिआईबीका डिआईजी निरज शाहीले बताएका छन् ।


बस्नेतले जेलबाटै धम्काएर व्यापारीसँग पैसा असुलेका थिए ।
फोन गरेर धम्क्याउने धन्दामा संलग्न पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेको थियो । उनीहरूले समीरकै निर्देशनमा आफूहरूले व्यवसायीहरूलाई धम्क्याएको स्विकारेका छन् । जसमा गृहमन्त्रीका भाईको समेत साथ खुलेको हो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गतको आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

अनुसन्धानमा बस्नेतले नै निर्माण व्यवसायीको सूची दिएर धम्क्याउन निर्देशन दिएको खुलेको छ । खड्का र नगरकोटीले इन्टरनेट कलमार्फत फोन गरी पैसा माग्ने र नदिए शरद गौचनकै हालत हुने भन्दै तर्साउने गरेका थिए । धम्क्याउन प्रयोग गरिएको सिमकार्डसमेत खड्काको साथबाट ब्युरोले बरामद गरेको छ ।
बस्नेत हाल सुन्धारास्थित भद्र जेलमा छन् । जेलकै फोन प्रयोग गरी उनले धम्की र असुलीको निर्देशन दिएको प्रहरी स्रोत बताउँछ । कतिपय निर्माण व्यवसायीसँग उनीहरूले पैसासमेत लिएका थिए । सो समूहको धम्कीबाट आजित भएपछि केही महिनाअघि व्यवसायीहरू सुरक्षा माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत निवेदन दिएका थिए ।

अनुसन्धानका क्रममा बस्नेत, केन्द्रीय कारागारमा रहेका अर्का गुन्डा नाइके रमेश बाहुन (सुजन पौडेल) तथा जुम्ला कारागारमा रहेका रिगल ढकालबीच नियमित सम्पर्क देखिएको छ । ढकालले कारागारबाट प्रहरीकै मोबाइल प्रयोग गरी विभिन्न व्यक्तिलाई फोन गरेका थिए । उनले केही प्रहरी अधिकृतलाई समेत नियमित फोन गरेको अनुसन्धामा खुलेको छ ।

२३ असोज ०७४ मा बस्नेतको समूहले निर्माण व्यवसायी गौचनलाई गोली हानी हत्या गरेको थियो । उनको हत्यापछि अन्य व्यवसायीलाई धम्क्याएर सो समूहले पैसा असुलेको थियो । सिआइबीको टोलीले उनलाई ०७४ पुसमा भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । जेल परेपछि पनि उनको आपराधिक गतिविधि रोकिएको छैन । ‘उसलाई आफ्ना अपराधप्रति कुनै पश्चात्ताप छैन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘जेलमै बसेर धम्की र असुली धन्दा चलाउने योजना बनाएकाो छ ।’ उनको आपराधिक गतिविधिमा जेलका कर्मचारी तथा केही प्रहरीले साथ दिएको आशंकामा समेत अनुसन्धान थालिएको छ ।

यसअघि नख्खु कारागारबाटै आपराधिक योजना बनाएको खुलेपछि बस्नेतलाई मुस्ताङ कारागार सरुवा गरिएको थियो । आफ्नो इन्काउन्टर गर्न लागेको हल्ला फिँजाएर अदालतमा उनले मुद्दा हालेका थिए । चलखेलकै आधारमा उनले त्यतिवेला सरुवा रोकेको स्रोत बताउँछ । उनको समूहका तीन सहयोगीलाई गत वर्ष कात्तिकमा पक्राउ परेपछि उनले जेलबाट केही व्यक्तिको हत्याको योजना बनाइरहेको खुलेको थियो । प्रहरीले लोप्साङ भन्ने सोम तामाङ, रोशन बुढाथोकी र अमरबहादुर रानालाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि चिकित्सकसहित केही व्यक्तिको हत्याको योजना बनाएको खुलेको थियो ।
गृहमन्त्रीकै भाईले यस्ता अपराधिक समूहलाई संरक्षण दिएकोा आश्चर्य मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्