Logo
Logo

भन्सार कार्यालयका प्रमुख नै राजश्व छलीमा संलग्न



टीकापुर । भन्सार कार्यालयका प्रमुखले नै सीमा क्षेत्रका भारतीय बजारबाट अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ ।
कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाका कार्यालय प्रमुख बिमलकुमार शाहले सरकारी गाडीको प्रयोग गरेर भारतीय बजारबाट भन्सार छली (अवैध) सामानहरु भित्र्याउने गरेको तथ्य फेला परेको हो ।

टीकापुरका स्थानीयले शाहले भारतीय बजारबाट एसी, हिटरजस्ता इलेक्ट्रोनिक समानहरु ल्याएको अवस्थामा फेला परेको छ । स्थानीयले भन्सार कार्यालयका कार्यालय प्रमुख शाहले भन्सार कार्यालयको सरकारी नम्बर प्लेटको गाडीमा चारवटा एसी र हिटर ल्याएर आएको अवस्थामा कार्यालय परिसरमै फेला परेका हुन् ।

कार्यालयको से १ झ ३०२ नम्बरको गाडीमा प्यानाशोनिक कम्पनीको चारवटा एसीसहित रंगेहात फेला परेका छन् । कस्टम बैठकमा सहभागी हुन भारत गएका शाहले त्यहाँबाट एसी ल्याएर आएका हुन् ।

भन्सारको रिपोर्टिङका लागि भन्सार पुग्दा कार्यालयमा शाह नभएपछि उनलाई पर्खेर बस्दा उनी आएको गाडीमा एसी फेला परेपछि उनले घरायसी प्रयोजनका लागि भारतीय बजारबाट एसी खरिद गरेको स्वीकार गरेका छन् ।

उनीसँग एसीको बिलसमेत थिएन । बिल मागेपछि शाहले बोली फेर्दै कार्यालय प्रयोजनका लागि नेपालबाटै एसी खरिद गरेको बताए । गाडीभित्र एसी ल्याएको देखेपछि हतोत्साहित भएका उनले पटकपटक समाचार सार्वजनिक नगर्न आग्रहसमेत गरे ।

सरकारले लक्ष्यअनुसारको राजस्व संकलन नभएको जनाइरहेका बेला भन्सार कार्यालयका प्रमुख नै राजश्व छलीका अवैध सामान भित्र्याउन लागेको भेटिएका हुन् । भन्सारका प्रमुख नै राजस्व छलीमा संलग्न देखेपछि राजश्व संकलनमा उनको उदासीनतालाई सहजै अनुमान गर्न सकिन्छ । गत आर्थिक वर्षदेखि भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन समेत गर्न सकेको छैन ।

कार्यालयले लक्ष्यको ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा १६ करोड ९४ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य पाएको भन्सार कार्यालयले पाँच महिनामा दुई करोड ४७ लाख ८५ हजार मात्रै राजस्व संकलन गर्न सकेको छ ।

प्रतिक्रिया दिनुहोस्