काठमाडौं, २७ भदौ ।
नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा जानेको तलब बढाउने भएको छ । कन्टिजेन्टका रूपमा शान्ति मिसनमा जानेको न्यूनतम तलब एक हजार २९ डलरबाट बढाएर एक हजार एक सय १४ डलर दिने प्रस्ताव गरेको छ । अबदेखि मिसन जानेको बेसिक तलब एक हजार एक सय १४ हुने र पदअनुसार भत्ता हुने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । अहिलेसम्म एक हजार २९ देखि एक हजार तीन सय ७८ डलरसम्म पाउँदै आएका थिए । मिसनमा सबैको जिम्मेवारी उस्तै हुने भएकाले तल्लो तहको तलब बढाउने प्रक्रिया अघि बढाइएको, तर कल्याणकारी कोष सञ्चालन समितिबाट स्वीकृत भइनसकेको उनले बताए ।
राष्ट्रसंघीय शान्ति मिसन निकै चुनौतीपूर्ण हुने भएकाले विकसित देशले त्यहाँ जानेलाई राष्ट्रसंघले दिने तलबमा पनि थपेर दिने गरेको छ । मंगलबार
सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पनि कल्याणकोषमा हुने कटौती कम गरेर थप सुविधा दिनेबारे योजना अघि बढाएको सुनाएका थिए ।
बटालियन तथा एफपियूका रूपमा जाने सैनिक–प्रहरीलाई राष्ट्रसंघले प्रतिव्यक्ति महिनाको एक हजार चार सय २८ डलर दिने गरेको छ । विकसित देशले यसमा थपेर उनीहरूलाई तलब दिने गरेका छन् । कतिपय देशले यसबाट पनि कटौती गरेर दिन्छन् । नेपालमा प्रहरीले एक हजार चार सय २८ डलर नै दिने गरेको छ भने सेनाको हकमा थोरै कम छ । राष्ट्रसंघले तोकेअनुसार बन्दोबस्ती र गस्तीका सामान नभएको अवस्थामा भने राष्ट्रसंघले तलब समेत कटौती गर्छ ।
सिपाहीहरुको पसिनाको कमाई धेरै कटौती गरेर कल्याणकोषमा थुपार्नुभन्दा उनीहरुको तलब नै बढाउने प्रस्ताव प्रधानासेनापति थापाले अघि बढाएका छन् । एक महिनानपछि नयाँ तलब लागू हुने सेनाले जनाएको छ ।











