पाल्पा, २७ भदौ ।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरोमा पुरिएर १ जनाको मृत्युको छ भने ४ जना घाइते भएका छन् ।

शुक्रबार बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धबाबा ड्याम साईड हेड वक्स नजिकै दुर्घटना भएको हो । एक महिना अघिमात्र पहिरोमा परी एक जना मोटरसाइकल चालकको मृत्यु भएको थियो ।
रातभरी परेको पानीको कारण सिद्धवावामा पहिरो झरेको हो । ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालन भइरहेको छ ।
यो सडकखण्डमा वर्षेनी पहिरो जाने गरेको छ । हरेक वर्ष पहिरोका कारण यात्रुको ज्यान जाने गरेको र सडक समेत अवरुद्ध हुने गरेको छ ।
पहिरोको जोखिम घटाउन पहल नगरेको भन्दै स्थानीय आक्रोशित छन् ।











