काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कायम रहने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले शक्ति बाँडफाँटका विषयमा गठबन्धनका दलहरू बसेर छलफल गर्ने बताए ।
उनले भने, ‘बीचमा कांग्रेस संसदीय दलको नेता पनि चुनिएको थिएन । म पनि बिरामी थिएँ । अहिले पनि बिरामी नै छु । तर आज वा भोलि हामी बसेर सरकार निर्माणबारे छलफल गर्छौं ।’
नेपालले राष्ट्रपतिमा दाबी गरेको भन्ने सन्दर्भमा उनले देशको आवश्यकताअनुसार भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘मैले राष्ट्रपति हुनलाई राजनीति गरेको भए त २०६४ र २०७२ सालमा नै राष्ट्रपति हुन अफर आएको हो तर मैले उमेर पुगेको छैन भनें ।’
नेपाल केही दिनअघि छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनी आज अस्पतालबाट डिस्चार्ज नभइकनै शपथ लिन बानेश्वर गएका हुन् ।














