काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।

यस्तै हितराज पाण्डे दलको प्रमुख सचेतक बनेका छन् । तर माओवादीले दलको उपनेता भने चयन गरेको छैन । दलको उपनेताका लागि उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको टकारावले उपनेता चयन गर्न नसकेको हो ।
वर्षमान र जनार्दन दुवैले उपनेताका लागि दाबी गर्दै आएका छन् । उनीहरु दुवैले उपनेता आफूलाई बनाउन अध्यक्ष प्रचण्डसँग माग गर्दै आएका छन् । त्यसैले थप गृहकार्य गरेर मात्रै दलको उपनेता चयन गर्ने प्रचण्डले बैठकमा बताएका थिए । सरकार गठन भएपछि उपनेताको टुंगो लगाउने बताइएको छ ।
यसअघि माओवादीको राष्ट्रिय महाधिवेशनमा पनि वर्षमान र जनार्दन महासचिवका दाबेदार थिए । दुई प्रभावशाली नेताको टकारावकै कारण पार्टीले देव गुरूङलाई महासचिव बनाएको थियो । वर्षमान र जनार्दन उपमहासचिव बनाइएको थियो ।














