Logo
Logo

एसपी यादबलाई बर्खास्त गर्ने तयारी




काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादवलाई गृह मन्त्रालयले निष्काशन गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले उनलाई केही दिनअघि दोषी ठहर गर्दै सजाय सुनाएको हो ।


सर्वोच्च स्रोतका अनुसार संयुक्त इजलासले यादव ४ मपहना कैद र जरिवानाको फैसला सुनाएको हो । जसअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको छ । जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा सम्पर्क राख्न भनिएको प्रहरी प्रवक्ता डिआइजी टेक प्रसाद राईले बताए ।


रुपन्देही जिल्लाका तत्कालीन प्रहरी नायव उपरीक्षक यादवले प्रहरी जवान ढकबहादुर गुरुङमार्फत् लागूऔषध मुद्दा मिलाइदिन भनी एक लाख रुपैयाँ घूस लिएको अभियोग लगाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जेठ २०७१ मा विशेष अदालतमा दुवै जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो ।

यादव माघ २०६८ देखि असोज २०६९ सम्म रुपन्देहीमा प्रहरी नायव उपरीक्षकका रुपमा कार्यरत थिए । जसक्रममा ८ चैत २०६८ मा राति ८ बजे अञ्चल प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले सतिश प्रधानसहितका ३ जनालाई १३ ग्राम लागूऔषधसहित पक्राउ गरेको थियो । आवश्यक कारवाहीका लागि जिल्ला प्रहरीमा पठाएकोमा यादवले प्रधानसँग प्रहरी जवान गुरुङको मोबाइलबाट अस्वाभाविक सम्पर्क गरेको देखिएको थियो ।

यादवले प्रधानका आफन्तसँग तीन वटा खाली चेक मगाइ त्यसमा गुरुङको नाममा १ लाख रुपैयाँ लेखी प्रधानको दस्तखत गराएका थिए । प्रहरी जवान गुरुङले सो चेक सिद्धार्थ बैंकको शाखाबाट साटेर यादवको आदेशानुसार २५ हजार रुपैयाँ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक भवानीप्रसाद धमलालाई दिन खोजेका थिए । तर उनले लिन नमानी हल्लाखल्ला गरे । यादवलाई उक्त रकम फिर्ता गर्न जाँदा उनले लिएनन् ।

यसको जानकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मी समक्ष जवान गुरुङले दिएपछि उनको निर्देशनअनुसार मुद्दा शाखामा कागज गरी बुझाइएको थियो । उक्त रकम भ्रष्टाचार भएको ठहरसहित विशेषमा अख्तियारले मुद्दा दायर गरे पनि यादव र गुरुङले सफाई पाएका थिए । सर्वोच्चले भने यो फैसला उल्ट्याउँदै दुवै जनालाई कैद सजाय सुनाएको हो । गुरुङले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।

एसपी यादब पटक पटक कारबाहीमा परेका अधिकृत हुन् । तीन वर्षअघि पनि उनलाई प्रहरी प्रधान कार्यालयले ६ महिना निलम्बन गरेको थियो । तर, सेटिङ मिलाएर उनी सिन्धुपाल्चोक इन्चार्जमा गएका थिए । उनी पावर लगाएर गुप्तचरबाट प्रहरीमा आएका अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्