काठमाडौं । सरकार गठनका लागि सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बैठकमा गठबन्धनका रहेका मुख्य तीन दलका शीर्ष नेताहरुबीच गम्भीर छलफल भइरहेको छ ।
जारी छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मुख्य संवैधानिक पद तीन पार्टीलाई मिलाएर बाँड्न प्रस्ताव गरेका छन् ।

प्रचण्ड र माधव नेपालले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक–एक पार्टीलाई बाँड्न प्रस्ताव गरेका हुन् । माओवादी एक नेताका अनुसार तीन पदमा तीन पार्टीलाई एक–एक गरेर लिनेगरी सहमति गर्न देउवालाई प्रस्ताव राखेका छन् । उनीहरुको प्रस्तावअनुसार कांग्रेस ठूलो दल भएकाले पहिला उसले रोजेर लिन पाउने छ । दुई पद माओवादी र एकीकृत समाजवादीले मिलाएर लिनेगरी प्रस्ताव गरिएको छ ।
तर, प्रचण्ड–माधवको प्रस्तावलाई देउवाले इन्कार गरेका छन् । प्रचण्ड र नेपालको प्रस्ताव सुनेपछि देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान दोहो¥याएको बताइएको छ ।














