Logo
Logo

धरानमा बढ्यो चुनावको चहलपहल


- दृष्टि न्युज/संवाददाता


धरान, ३१ भदौ । निर्वाचन आयोगले यही मंसिर १४ गते स्थानीय तहमा देश भरी रिक्त रहेको स्थानमा उप निर्वाचन गराउने भए पछि धरानमा पनि राजनीतिक दलहरु चुनाव तयारीमा जुटेका छन ।

गत वर्ष धरान उपमहानगरपालिकाका नगरप्रमुख तारा सुब्बा र वडा नं ७ का वडाध्यक्ष भुवन मोक्तानको मुत्यु भएपछि दुई पद रिक्त रहेको थियो । हालसम्म उपमेयर मन्जु भण्डारी र वडाध्यक्षमा सदस्य जीवन सुवेदीले कार्यवाहक भएर काम गर्दै आएका छन् ।

मेयरका दावेदार कस्ता कस्ता ?

धरानमा कम्युनिष्टहरुले सबै चुनावमा एकछत्र रुपमा विजय हासिल गर्दै आएका कारण यो उपनिर्वाचनमा पनि नेपाली कांग्रेसबाट चुनाव लड्न पुराना त्यागी नेता कार्यकर्ताहरुबाट साहै्र जागर देखाएका छैनन । तथापि विपी प्रतिष्ठानमा जागिर खाँदै आएका कर्मचारी तथा नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले भने मेयरको पदमा चुनाव लड्नकै लागि भनि प्रतिष्ठानबाट राजिनामा दिएका छन् । तर २० वर्ष जागिर खाई पेन्सन पाक्न लागेका गोलेको राजीनामा कावा उपकुलपति गुरु खनालले स्वीकृत गरिसकेका भने छैनन् । नेपाली कांग्रेसका अर्का उम्मेदवारको रुपमा तिलक राईले फेरि चुनाव लड्ने बताएका छन् । गत निर्वाचनमा मेयरकै उम्मेदवार भई नेकपा एमालेसँग पराजित भोगेका राई हाल नेपाली कांग्रेस धरान नगरसमितिका अध्यक्ष पनि हुन् ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ८९ हजार ५४९ मतदाता रहेको धरानमा आगामी आउँदो उपनिर्वाचनमा भने ४ हजार मतदाता थपिएर ९३ हजार ५०० मतदाता पुगेको निर्वाचन आयोग सुनसरीका निमित प्रमुख अजयकुमार मिश्रले जानकारी दिएका छन् । मिश्रका अनुसार साउन १६ गतेसम्म मतदाता नामावली संकलन भएको छ । मतदाता संख्या बढेसँगै मतदानस्थल पनि थपिने कुरा उनले बताए ।

यता नेकपाको तर्फबाट हालै नेकपा विप्लवबाट नेकपाका केन्द्रीय सदस्य बन्न पुगेका किरण कुमार राई, जिल्ला सदस्य प्रकाश राई, अइन्द्र बेघा, मनोजकुमार मेयाङवो, चोत्लुङ, मुक्साहाङ मेयाङवो, विजय राई, रमेश बस्नेत, महिलाबाट चेतना श्रेङको नाम आउन थालेको छ । यीमध्ये प्रकाश राई, अइन्द्र वेघा, विजय राईले फेसबुक तथा पत्रपत्रिकामार्फत आफ्नो प्रचारप्रसार आफैँले खुलेरै गर्न थालेका छन् । मनोज मेयाङवो, रमेश बस्नेत, चोत्लुङले आफना कार्यकर्ता शुभेच्छुकमार्फत आफनो प्रचार गर्न थालेका छन् । तर हालै नेकपा प्रवेश गराई पार्टीले केन्द्रीय सदस्य बनाएका किरणकुमार राईको भने स्थानीय पत्रकार र शुभेच्छुकहरुले नै मेयरको दाबेदारको रुपमा नाम अघि ल्याउन थालेको देखिन्छ ।

किरण राई २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र न १ बाट प्रत्यक्ष निर्वाचनमा भारी मत ल्याई विजय भएका थिए । स्वच्छ छवि, लडाकु स्वभाव सबैसँग मिलनसार धरानका लोकप्रिय राजनीतिज्ञ भएको कारण पनि उनलाई मेयर पदमा सबै पार्टीले साझा उम्मेदवारको रुपमा स्वीकार गर्ने बताउन थालेका छन् । संघीय समाजवादी पार्टीका स्थानीय नेता ध्यानबहादुर राईले त यदि किरण राईले उम्मेदवारी दिने हो भने उहाँप्रति हाम्रो दृष्टिकोण सकारात्मक रहने बताइसकेका छन् । पार्टीका कार्यकर्ता युवा, वुद्धिजीवी व्यापारीलगायत अन्य सबै राजनीतिक दलका मानिसहरुसँग राम्रो हिमचिम भएका कारण पनि सबैले उनको उम्मेदवारीलाई सकारात्मकरुपमा लिएका छन् । यता पूर्व नगरप्रमुख भइसकेका मनोज मेयाङवो पनि नगर विकासको काममा राम्रो नेताको रुपमा परिचित छन् । कुनै पनि काम गर्दा टुंगोमा पु¥याएर छाड्ने उनको राम्रो पक्ष मान्छन् नगरवासी । तर पछिल्लो समय पार्टीको कामभन्दा घरेलु व्यवसायमा बढी व्यस्त मेयाङवोलाई धरानभित्र जमिनको कारोवार गर्ने एक समूहले बढी चर्चामा ल्याउनाले उनको उम्मेदवारी चर्चासँगै विभिन्न अडकलबाजी पनि गर्न थालिएको छ ।

गत स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट नगरप्रमुखमा उम्मेदवार बनाइएका विद्यार्थी नेता अइन्द्रविक्रम वेघाले खुब मेहेनत गरेर एमाले र कांग्रेसपछि तेस्रो स्थानमा मत प्राप्त गर्न सफल भएका थिए । सोही चुनावमार्फत नगरवासीमाझ परिचित भएका वेघाले त्यसपछि कुनै रचनात्मक काम गरेर देखाएनन्, बरु फेसबुके विकासमा मात्र केन्द्रित भएका थिए । यता नेकपा एमाले पार्टीभित्र लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएका सुवास राईको उम्मेदवारीलाई पार्टीभित्र भने सकारात्मक नै लिएका छन् । तर नगरवासीमाझ त्यति परिचित नभएको र विकास निर्माणमा त्यति सहभागी नदेखिने अनुहार भएका कारण उनले टिकट पाए पनि पार्टीलाई चिनाउन निकै हम्मे पर्ने कार्यकर्ताहरु बताउँछन । यता धरानका सबै विकास निर्माणमा आफू सहभागी रहेको दाबी गर्ने पूर्व माओवादीबाट आएका चोत्लुङ र उनका दाजु मुक्साहाङ मेयाङवो पनि मेयर आकांक्षी देखिन्छन् । तर पार्टीमा नातावाद, जातिवाद लागू गरेर हैकम जमाउन खोजेको आरोप लाग्दै आएका दाजुभाइमाथि पछिल्लो दिनहरुमा अइन्द्र वेघा, अशोक राईलगायत युवा तथा विद्यार्थी नेताहरुसँग पानी बाराबारको स्थिति देखापरेको छ ।

प्रचारप्रसारमा जुटे पार्टीहरु

उपनिर्वाचनका लागि धरानका विशेषगरी नेपाली कांग्रेस र नेकपा धरान नगर कमिटीले आफ्ना कार्यकर्तालाई भेला तथा प्रशिक्षण दिन थालेका छन् । एमाले र माओवादीबीच पार्टी एकता टुंगो लगाई नगरदेखि वडावडामा शपथग्रहण कार्यक्रम भइरहेको कारण पनि सबै नेताले सोही कार्यक्रमहरुलाई कार्यकर्ता प्रशिक्षणको पनि माध्यम बनाएका छन् । वडाको शपथग्रहणपछि नेकपाले टोलटोलमा कमिटी बनाउने देशव्यापी अभियान चलाउने भएको छ । धरानमा भने सोही अभियानलाई चुनाव प्रचारको समेत अभियानमा जोड्ने कुरा नगर पार्टी अध्यक्ष नारायण सुवेदी बताउँछन् । यसैगरी नेपाली कांग्रेसले पनि वडावडामा चुनाव प्रचार समिति बनाएर काम गर्ने कुरा नगर सभापति तिलक राई बताउँछन् । उनले नेकपाले जितेको धरानमा खासै राम्रो काम गर्न नसकेकाले यसपटक नेपाली कांग्रेस जित्ने दाबी गरे । गत स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले २१ हजार, नेपाली कांग्रेसले १६ हजार र नेकपा माओवादीले ११ हजार मत प्राप्त गरेका थिए ।

चार हजार मतदाता थपिए

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ८९ हजार ५४९ मतदाता रहेको धरानमा आगामी आउँदो उपनिर्वाचनमा भने ४ हजार मतदाता थपिएर ९३ हजार ५०० मतदाता पुगेको निर्वाचन आयोग सुनसरीका निमित प्रमुख अजयकुमार मिश्रले जानकारी दिएका छन् । मिश्रका अनुसार साउन १६ गतेसम्म मतदाता नामावली संकलन भएको छ । मतदाता संख्या बढेसँगै मतदानस्थल पनि थपिने कुरा उनले बताए ।

त्यसैगरी पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दागर्दै गत माघ महीनामा मृत्यु भएको थियो । त्यस्तै एउटा गाउँपालिकाका प्रमुख खड्गबहादुर कटुवालको २०७४ साल पुस २० गते जीप दुर्घटनामा मृत्यु भएको थियो । यी तीन पदमध्ये धरान–२ स्थानमा नेकपा र १ स्थानमा नेपाली कांग्रेसले चुनाव जितेको क्षेत्र हो । तीमध्ये धरान देशकै चर्चित शहर र उपमहानगरपालिका भएका कारण सबैको ध्यान धरानको उपनिर्वाचनमा केन्द्रित हुनपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्