Logo
Logo
कला

‘जब बुझ्ने भएँ, तब मोडलिङ सुरु गरेकी हुँ’



मोडलिङमा चम्किँदो नाम हो, समीक्षा क्षेत्री । करिअरको सुरुवातमै आफूलाई चिनाउन सफल समीक्षा हिजोआज आफ्नै समीक्षा गर्न थालेकी छन् । सानैदेखि मोडलिङमा रुची राख्दै आएकी समीक्षा भन्छिन्, ‘यहाँसम्म आइप्ग्दा आधा इच्छा पूरा भएको महशुस गर्दैछु ।’

रेखा थापा र निरुता सिंहजस्ता अभिनेत्रीको ‘बोल्ड अभिनय’बाट प्रभावित भएर मोडलिङ रोजेकी चितवनकी समीक्षा भन्छिन्, ‘बुबाआमा भन्नुहुन्छ– तोत्तेबोली बोल्न थालेदेखि नै रेखा थापाजस्तै बन्छु भन्थे रे ।’ कुसल अभिनेत्री बन्ने लक्ष्यसहित संघर्षरत समीक्षा भन्छिन्, ‘अहिले लर्निङ प्रियडमै छु । सिकेर–बुझेर फिल्मी क्षेत्रमा करिअर बनाउने उद्देश्य लिएकी छु ।’ समीक्षा क्षेत्रीसँग दृष्टिको जम्काभेट :

तपाइँको पुर्खौली जन्मघर कहाँ हो ?
चितवन, भरतपुर हो । तर, केही समययता सातदोबाटो ललितपुरमा बस्दै आएकी छु ।

तपाइँ -याम्प मोडलिङ पनि गर्नुहुन्छ ?
अहिलेसम्म गरेकी छैन । -याम्प मोडलिङका लागि कुरा नआएको चाहिँ होइन । अहिले पनि आइरहेको छ । अबचाहिँ -याम्पमा पनि जानुपर्ला भनेर सोच्दैछु ।

म्युजिक भिडियोमार्फत नै मोडलिङमा इन्ट्रि गर्नुभएको हो ?
इच्छा र रुची सानैदेखि थियो । तर, जब बुझ्ने भएँ, त्यसपछि मोडलिङ गर्न सुरु गरेकी हुँ ।

सानैमा कसरी मोडलिङप्रति आकर्षित हुनुभयो ?
सानोमै मलाई रेखा थापा र निरुता सिंहको बोल्ड अभिनय र जीवनशैलीले प्रभावित पा¥यो । म उहाँहरुको फिल्म हेर्थेँ । मेरो आमा अहिले पनि भन्नुहुन्छ, मेरो बोली फुट्न थालेदेखि नै भन्थेँ रे, ‘म रेखा थापा जस्तै बन्छु ।’ मलाई त्यो बेला रेखा थापाको बोल्ड अभिनय खुबै मन पर्दथ्यो ।

अहिलेचाहिँ रेखा थापा कस्तो लाग्छ ?
रेखा थापा मलाई सानैदेखि मनपर्ने अभिनेत्री हुन् । त्यसो त अहिले रेखा फिल्ममा भन्दा राजनीतिमा बढी सक्रिय छन् । तैपनि रेखा फिल्म क्षेत्रका लागि एभरग्रीन लाग्छ ।

मोडलिङमा पहिलो अवसर कसरी मिल्यो ?
मोडलिङमा पाइला राख्नुअघिदेखि केही कलाकारसँग मेरो लिंक थियो । मेरो रुची पनि मोडलिङ र फिल्ममा थियो । सनम कठायत मेरो साथी हो । उहाँले मोडलिङप्रतिको मेरो रुची थाहा थियो । उहाँले नै रुची भएको मान्छेले अब गर्नुपर्छ भन्नुभयो । त्यसपछि मोडलिङ सुरु गरेकी हुँ । पहिलो म्युजिक भिडियो पनि मैले उहाँसँगै गरेकी छु ।

अहिलेसम्म कति भिडियो गर्नुभयो ?
एक दर्जनभन्दा केही बढी भयो होला । अफर आएजति सबै भिडियो गरेको भए थुप्रै हुन्थ्यो । तर, सुरुबाटै सेलेक्टेड भिडियोमात्र गर्दै आएकी छु ।

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
अफरहरु आइरहेको छ । तर, मलाई चित्त बुझ्यो भने मात्र गर्छु । अफर आएका सबै भिडियो गरेर साध्य छैन । थोरै होस्, तर, राम्रो काम होस् भन्ने मेरो मान्यता हो । अहिले म लर्निङ प्रियडमै छु । सिकेर–बुझेर राम्रै काम गरौँ भन्ने हेतुले केही समययता थिएटर जोइन गरेकी छु । हाल गुरुकुल थिएटरमा अभिनय सिक्दैछु ।

फिल्ममा काम गर्ने तपाइँको उद्देश्य हो ?
मेरो मुख्य इच्छा भनेकै फिल्ममा काम गर्ने हो । तर, फिल्ममा काम गर्नु अगाडि अभिनयबारे सिकेर बुझ्न खोज्दैछु । अहिले म्युजिक भिडियोमा काम गर्नुको कारण पनि त्यही हो । हिजोआज म्युजिक भिडियोहरु कथानक बन्न थालेका छन्, जसले मलाई फिल्ममा प्लस गर्न सक्छ भन्ने मेरो बुझाइ हो ।

अहिलेसम्म फिल्मको अफर आएको छैन ?
ठ्याक्कै अफर नै त आएको छैन । कुरा भइरहेको छ । फिक्स नभएसम्म ठुयाक्कै भन्न मिल्दैन । तर, मैले सोचेजस्तो फिल्मका लागि अफर आए काम गर्न तयार छु ।

तपाइँले चाहेजस्तो फिल्मको कथावस्तु कस्तो हुनुपर्छ ?
मलाई लभस्टोरी मनपर्छ । प्लस नारीप्रधान होस् । महिलाको शसक्त भूमिका भएको फिल्ममा काम गर्ने मेरो इच्छा छ ।

तपाइँले मोडलिङ गर्नुभएको चर्चित तीन भिडियो भन्नुपर्दा ?
‘किन मरिन म’, ‘दोष’ र ‘गुनासो’ । यी तीन गीतको भिडियोलाई दर्शकले निक्कै रुचाए । मलाई पनि मनपर्छ ।

यहाँसम्म आइपुग्दा मोडलिङ क्षेत्र सोचेजस्तो पाउनुभयो ?
सोचजस्तो नहुने रहेछ । यो इण्ड्रष्ट्रि बेग्लै तरिकाले चल्दोरहेछ । म सिधा मनले सोच्थेँ कि कला भएपछि काम पाउन गाह्रो हुन्न । तर, यो क्षेत्रमा काम पाउनलाई चाकरी आवश्यक रहेछ । तर, त्यो तरिकाले काम गर्न चाहन्न ।

तपाइँमाथि कुनै किसिमको प्रलोभन आएको छ कि छैन ?
अहिलेसम्म त्यस्तो कुनै किसिमको प्रलोभन आएको छैन । कुनै न कुनैले घुमाउरो तरिकाले प्रस्ताव गरेको हुन्छ । त्यस्तालाई उही तरिकाले पन्छाइदिन्छु ।

प्राय कलाकारको प्रेम र रोमान्सको चर्चा भइरहेको हुन्छ । तपाइँलाई प्रेम प्रस्ताव कतिको आउँछ ?
प्रेम प्रस्तावहरु आइरहेको हुन्छ । ग्ल्यामरस क्षेत्रका लागि यो नर्मल हो । तर, म अहिले रेडी छैन । अहिले मेरो ध्यान करिअर निर्माणमै केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्