काठमाडौं । नेकपा माओवादी केन्द्रबाट युवा सांसदहरु मन्त्री बन्ने सम्भावना बढेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिनियर नेताहरुलाई सचिवालयमा राख्ने मनसाय बनाएपछि माओवादीबाट युवा सांसदले मन्त्री बन्ने अवसर पाउने सम्भावना बढेको हो ।

७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन । धेरैलाई भाग लगाउनुपर्ने हुँदा माओवादीले कति मन्त्रालय पाउँछ यकिन छैन । तर, पाउने सबै मन्त्रालयमा यसपटक युवा नै मन्त्री हुने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
आफ्नो कार्यकाल स्वर्णिम बनाउन सचिवालयमा अनुभवी र परिपक्क नेताहरुको मुख्य सहयोग लिने प्रचण्डको मनसाय छ ।
त्यसबाहेक अन्य दलबाट केही मन्त्रीहरु सरकारमा सामेल गराउँदा वरियता मिचिएको छ ।
जसकारण माओवादीका पुराना र अनुभवी नेता मन्त्री बन्न हिच्किचाइरहेका छन् । उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेतले यसपटक मन्त्री नबन्ने बताइसकेका छन् ।
नेता पुन र बस्नेत मन्त्री बन्ने पहिलो दाबेदार भए पनि रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेकाले उनीहरुले लामिछानेको भन्दा तल्लो वरियतामा बसेर मन्त्री बन्ने इच्छा नदेखाएका हुन् ।
त्यसकारण पनि युवा सांसदहरुले मन्त्री बन्ने अवसर पाउने सम्भावना प्रवल देखिन्छ । नेता पुनले युवा नेताहरूलाई सरकारमा पठाएर आफूहरू पार्टी निर्माण र सरकारलाई सफल पार्ने अभियानमा जुट्ने बताए ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता पुनले युवा नेताहरुसँगको छलफलका क्रममा आफु सरकारमा नजाने र युवा सांसदलाई मन्त्री बन्ने अवसर दिने बताएका हुन् ।
‘म सरकारमा जान्नँ, अहिले मन्त्री बन्ने बेला होइन’ उनले भने, ‘अहिले मेरो सम्पूर्ण ध्यान पार्टी बलियो बनाउने र यसलाई पुनर्जीवित गर्ने नै हुन्छ।’
पुन र बस्नेतबाहेक माओवादीबाट मन्त्री बन्ने चर्चामा सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, रेखा शर्मा, महिन्द्र राय यादव र हितबहादुर तामाङ रहेका छन् ।












