बझाङ । खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीका होटेल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो ।

कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने ३५० रुपैयाँ असुल गर्दै आएका छन् । ‘सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ,‘ उनले भने, ‘तमैल पुग्न बाटोमै झन्डै हजार रुपैयाँ सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भएपछि केको व्यवसाय गर्नु ?’
खप्तडछान्ना गाउँपालिका–५, पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउँछन् । ‘घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन् ।’
उनका अनुसार छान्नामा कम यात्रु भए जीप चलाइँदैन । ‘कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो,’ उनले भने, ‘जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् । तर, जीप भरिए जुन ठाउँबाट चढे पनि सय रुपैयाँभन्दा तल लिँदैनन् ।’
खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एकपटक मूल्य निर्धारण गरिएको थियो । ‘प्रतिकिलोमिटर १२ रुपैयाँ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो,’ खप्तडछान्ना–५ का राजेश कार्कीले भने, ‘त्यो बेलामा कालुखेतीबाट १२० रुपैयाँमै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।’
उनका अनुसार भाडाको विषयलाई लिएर पटक–पटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । ‘कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले २०० रुपैयाँ असुल्दै आएका छन्,’ उनले भने ।
गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झँदै भन्छन्, ‘घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट परमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुन सक्ने भन्दै बोलेनौँ ।’
उनी पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि सय रुपैयाँभन्दा बढी असुल्छन् ।’
जीप व्यवसायी हेमराज थापा पनि जीप भाडा अलि बढी नै भएको स्वीकार गर्छन् । उनी भन्छन्, ‘जीपको भाडा अलि बढी नै हो । तर, सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।’
सरकारले सडक गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उनी बताउँछन् । ‘गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई÷तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै आठ÷दश हजार रुपैयाँका टायर फेर्नुपर्छ । त्यो हेर्ने हो भने व्यवसायीलाई पनि निकै मर्का छ,’ उनले भने ।
थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अरू ठाउँको जस्तै हुन्थ्यो । ‘सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदा समेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ,’ उनले भने ।
अब नयाँ भाडा निर्धारण हुन्छ : पालिका
खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर २० रुपैयाँ लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउँछन् । ‘हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ,’ उनले भने ।
प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । ‘गत वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन । अब तुरुन्तै नयाँ भाडादर लागु हुन्छ ।’
सडकलाई दिगो रूपमा टिकाउन तथा बाह्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उनले बताए ।
अहिले छान्नामा मात्र डेढ दर्जन जीप सञ्चालनमा छन् । भाडा बढी लिन पाएका कारण व्यवसायीले जीप थप्दै गरेको स्थानीयको बुझाइ छ ।












