काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू निरन्तर राष्ट्रहितको पक्षमा उभिरहने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू कसैको दबाबमा नपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालको भनाइ उदृत गर्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हाम्रा अध्यक्षले राष्ट्रहितको पक्षमा लगातार उभिरहने । कसैको दबाबमा नपर्ने पार्टीको दृष्टिकोण बनाउँदै अगाडि बढ्नुछ । त्यसका लागि आजको परिस्थितिलाई तपाईंहरू कसरी हेर्नुहुन्छ । त्यसको उचित परामर्श नेतृत्वलाई चाहिएको छ भन्नुभएको छ ।’
नेपालले कांग्रेस नेतृत्वको गठबन्धन टुटेर अहिले नेकपा एमाले नेतृत्वको गठबन्धन बन्नुको कारणबारे समेत अध्यक्ष नेपालले प्रष्ट्याएका थिए ।
प्रवक्ता खतिवडाका अनुसार पुरानो गठबन्धन कसरी टुटेर नयाँ गठबन्धन बनेको छ । त्यसबारे कसरी बढ्ने भन्नेबारे अध्यक्ष नेपाले नेताहरुसँग सुझाव मागेका छन् ।
बैठकमा सरकारमा जाने कि बाहिर बसेर समर्थन मात्र गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ । यसबारे पार्टीभित्र दुई धार देखिएको छ ।












