Logo
Logo

तस्करी शून्यमा झार्न आइजिपीको निर्देशन


845
Shares


काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुखहरुबीच प्रदेशस्तरीय शान्ति सु–व्यवस्था सम्बन्धी अर्ध–वार्षिक समीक्षा बैठक सोमबार सम्पन्न भएको छ ।


नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा भिडियो कन्फ्रेन्समार्फत् सम्पन्न उक्त बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । सार्वजनिक सुरक्षा अमन चयन कायम गर्न र संगठनको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा समेत संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको संगठनमा सधैँ खाँचो रहने हुनाले सोही अनुसार काम गर्न प्रहरी अधिकृतहरूलाई उनको आग्रह छ ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख  गरे । स्थानीय तहको साथै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूको योगदान सराहनीय रहेको उल्लेख गर्दै अब त्यस्तै किसिमले राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसा लगायतका अपराध निश्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारी दत्तचित भई लाग्नुपर्नेमा उहाँले जोड दिए । तस्करीलाई शून्यमा झार्न उनको निर्देशन छ । प्रहरीले औचित्य पूष्टी हुने गरी कर्तव्य पालनाको क्रममा निष्ठापूर्वक गरेका काम–कारवाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने उनले बताए ।

बैठकको आरम्भमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणको क्रममा उनीहरुले सुरक्षा चुनौती, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसँग सम्बन्धित विषय एवं भोग्नु परेका चुनौती र पृष्ठपोषण, समन्वय र सहकार्यको अवस्था, प्रहरी कार्यालयलाई स्मार्ट र क्षमतावान बनाउन अंगिकार गरिएका नविनतम कार्यहरू लगायतका विषयमा समेत विस्तृत जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्