Logo
Logo

नर्भिकमा मृगौला प्रत्यारोपण सेवा सुरु



काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो सेवा सुरु भएको जानकारी गराएको हो ।

नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । अस्पतालले मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरेको जनाएको छ ।

आगामी दिनमा यस सेवालाई बिस्तार गर्दै लगिने पनि अस्पातालको भनाई छ । अस्पतालले हाल मृगौला प्रत्यारोपण गरेका दुईवटा ‘केस’ मध्य एउटा केस जटिल रहेको थियो ।

पहिलो पटक नर्भिकमा मृगौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता हुँदाहुँदै पनि नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण प्रत्यारोपण सफलतापुर्वक संम्पन्न भएको अस्पतालको भनाई छ ।

अस्पतालका विज्ञ चिकित्सकद्वय डा। राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले अब नर्भिकमा प्रत्यारोपण सेवा दिने छ ।

मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मृगौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मृगौला प्रत्यारोपण सेवाले विशेष महत्व अस्पतालले जनाएको छ ।

यस्तै नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाएको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्