काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकिकृत समाजवादीबीच एकताबारे छलफल सुरु भएको छ । वार्ताका लागि कार्यदलले बिहीबार मध्यान्ह १२ बजे सिंहदरबारमा छलफल सुरु भएको हो ।

जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा एकीकृत समाजवादीको तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् । मुलरुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई हम्मेहम्मे पर्ने देखिन्छ ।
नेकपा एमालेबाट अलग भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ भने उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।
एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ ।












