हेटौंडा । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छन् ।
सायजुले बिहीबार बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी दर्ता गराएकी हुन् । सायजुलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोसाइ प्रस्ताव र गीता काफ्ले समर्थकमा बसेकी छिन् ।

बागमती प्रदेशसभा सचिवालयले बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्मका लागि सभामुखको मनोनयनको समय तोकेको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार मनोनयन दर्ता सकिएपछि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ताको समय तोकिएको छ । यसैगरी दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन् । धादिङ क्षेत्र नं. २ प्रदेश (१)बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।
सत्तासाझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार छन् । सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमतिअनुसार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएरपनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ र नेमकिपाका ३ सांसद छन् । सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ बजेका लागि प्रदेशसभा हलमा राखिएको प्रदेशसभा सचिवालयका सचिव खड्काले जनाएका छन् ।













