Logo
Logo

कृषि विकास बैंकमा साइबर हमला, कर्मचारीसहित ११ जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असोज ।
नेपालको बैंकिङ क्षेत्रमा फेरि साइबर हमला भएको छ । कृषि विकास बैंकमा अन्तराष्ट्रिय गिरोहले अवैध रुपमा पाँच करोड रुपैयाँ निकालेको हो ।
विभिन्न रेमिट तथा बैंकका शाखाहरूबाट अनधिकृत रकम निकाल्ने ११ जनालाई प्रहरीले पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा गिरोहका नाइके विदेशमा भएको खुलेको छ ।


प्रहरीले नुवाकोट मेघाङ गाउँपालिका ४का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं तारकेश्वर काभ्रेस्थलीका सन्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङलाई पक्राउ गरेको हो। मंगलबार पक्राउ परेका अन्य चारजनाको विवरण भने प्रहरीले अझैं खुलाएको छैन। प्रहरीले गत शनिबार चार जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार गत असोज ५ गते ह्याकरहरूले पानस रेमिट्यान्सबाट सिस्टम ह्याक गरेर ४ लाख २० हजार रुपैयाँ निकालेका थिए। त्यस्तै भुक्तानी हुन बाँकी १ लाख २० हजार रुपैयाँ पनि सिस्टम ह्याक गरेर उनीहरूले रोकिदिए पछि रेमिट्यान्सले प्रहरीमा उजुरी दिएको थियो। उजुरीका आधारमा प्रहरीले सुरुमा सन्जय घलेलाई पक्राउ गरेको थियो। त्यसअघि उनले बालाजुमा रहेको बिएनएस रेमिट्यान्सबाट पनि पैसा निकालेका थिए। त्यहाँबाट निकालेको ६० हजार रुपैयाँ उनले आफ्नी माइजुलाई दिएको प्रहरीलाई बयान दिएका छन्।

सोही बयानका आधारमा उनकी माइजु भनिने लक्ष्मी तामाङलाई पनि पक्राउ र्गयो। उनले प्रहरीमा लबङ तामाङले एक जनासँग २७ लाख रुपैयाँ लिनु छ, तिमीहरूको नाममा पठाइदिन्छ, त्यो पैसा झिकेर मलाई दिनु भनेको बताइन्। लक्ष्मीलगायत अरु चार जनाको नाममा पनि पैसा आएको थियो। चारै जनाको नाममा आएको रकम जम्मा गरी लक्ष्मीले लवाङलाई २ लाख ४० हजार रुपैयाँ दिएकी थिइन्।

अनुसन्धान गर्दै जाँदा प्रहरी कीर्तिपुरमा बस्ने विद्यासागर लामिछानेको कोठासम्मै पुग्यो। उनको कोठामा कालो झोलामा बेरिएको एउटा पोका फेला र्पायो। त्यो पोकामा ३१ लाख रुपैयाँ थियो। प्रहरीले त्यो रकम पनि बरामद र्गयो र लामिछानेलाई पनि पक्राउ र्गयो।

लामिछानेले आफ्नो साथी पुष्पराज खड्काले राख्न दिएको भनी बयान दिए। पुष्पराजले लामिछानेलाई ‘यो मेरो पहिलादेखिकै चिनजानको साथी लवङ तामाङको पैसा हो, राखिदिनु’ भनेर दिएका थिए। प्रहरीले उनीहरुकै बयानका आधारमा पुष्पराजलाई पनि कीर्तिपुर नगरपालिकाको मैतिनगरबाट पक्राउ र्गयो।

प्रहरीले उनीहरूसँग विभिन्न बैंकको चेक, मोटरसाइकलका ब्लुबुक, राहदानी, एटिएमहरु पनि बरामद गरेको छ।

लवङ तामाङको नाममा नुवाकोटस्थित कृषि विकास बैंकको खातामा ५० लाख रुपैयाँ जम्मा भएको देखिएको छ। प्रहरीले उनको ह्वाट्सअप म्यासेन्जरमा पाएको म्यासेजअनुसार इब्राहिम भनिने एकजनाले त्यो ५० लाख खातामा हालिदिन्छु भनेका थिए। त्यो उनी पक्राउ पर्नुभन्दा करिब २५ दिनअघिको कुरा थियो। त्योमध्ये २८ लाख रुपैयाँ उनले असोज ५ गतेको चेकबाट निकालेका थिए।

यो सबै रकम कृषि विकास बैंकको हो। विभिन्न शाखाबाट कृषि विकास बैंकको सिष्टम ह्याक गरेर व्यक्तिको नाममा पठाइएको प्रहरीले जनाएको छ। तर, बैंकले अहिलेसम्म पनि रकम एकीन गर्न सकेको छैन। प्रहरीको अनुसन्धानमा करिब ५ करोड रुपैयाँ यसरी विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको देखिएको छ। त्योमध्ये प्रहरीले करिब ६० लाख रुपैयाँ अहिलेसम्म बरामद गरेको छ।

बैंकका अनुसार कृषि विकास बैंक लहान शाखाका प्रबन्धकको पासवर्ड प्रयोग गरेर दुई करोड झिकिएको छ। प्रबन्धकको पासवर्ड प्रयोग गरेर उक्त शाखाका कर्मचारीले अवैध रुपमा पैसा झिकेको प्रारम्भिक अध्ययनले देखाएको कृषि विकास बैंकका कार्यवाहक महाप्रबन्धक प्रताप सुवेदीले बताए। बैंकका कर्मचारी पनि पक्राउ परेको उनले पुष्टि गरे ।
अझै केही व्यक्ति फरार रहेकाले प्रहरीले यसबारेमा केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्