Logo
Logo

नेकपालाई अर्काे धक्का, वैदेशिक रोजगार संघमा पनि पराजित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असोज ।
नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले धक्का खाएको छ । निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहको ‘प्यानल नै विजयी भएको छ ।


संघको २७ औं साधारणसभाअन्र्तगत गएराति सम्पन्न निर्वाचनका क्रममा अध्यक्षमा विष्णुप्रसाद गैरेसहित उनको प्यानल विजयी भएको हो ।
गैरेले कूल ३ सय ३० मत प्राप्त गरेका थिए। नेकपानिकट प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका सरोजकुमार पोखरेलले २ सय ८३ मत मात्र प्राप्त गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघिय समाजवदी पार्टि निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका थिए। त्यसैगरी प्रथम उपाध्यक्षमा सोही समूहका कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन्।

सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेल विजयी भएका छन्। जम्मा १७ पदका लागि ३७ जनाको उम्मेदवारी परेको थियो। निर्वाचनमा ६ सय ५८ मध्ये ६ सय २१ मत खसेको थियो ।
वैदेशिक रोजगार संघमा विगतमा एमाले निकट व्यवसायीले पटक पटक जितेका थिए । अहिले एमाले र माओवादी मिलेर बनेको नेकपाले संयुक्त उम्मेदवार खडा गर्दा पनि कोही विजयी हुन सकेनन् ।
यसले नेकपा कति कमजोर हुँदै गएको छ भन्ने प्रष्ट भएको छ । श्रममन्त्री गोकर्ण बिष्ट पनि यो निर्वाचनले नैतिक संकटमा परेका छन् । उनकै दोधारे नीतिका कारण मेनपावर व्यवसायीहरु सरकारसँग रुष्ट भएका छन् । भेन्डर फेर्नका लागि उनले डेढ वर्षसम्म मलेसिया रोजगारी बन्द गराएका थिए ।
यसअघि टानको चुनावमा पनि नेकपाले पराजय भागेको थियो । त्यस्तै विभिन्न जिल्लामा सम्पन्न उद्योग वाणिज्य महासंघको चुनावमा पनि नेकपाले हार बेहोरेको छ ।
सत्तामा रहेकाहरु कमाउनै व्यस्त भएकाले र कार्यकर्तामा समेत यसले निराशा बढाएको छ । यही हिसाबले आसन्न उपनिर्वाचनमा समेत नेकपालाई गाह्रो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्