Logo
Logo

सार्कलाई निष्क्रिय राख्न नहुने नेपालको धारणा


- दृष्टि न्युज/संवाददाता


न्युयोर्क,  १० असोज । नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेकोे हो ।
सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो । उन्नाइसौँ सार्क शिखर सम्मेलन हुन नसक्दा क्षेत्रीय सहयोगको भावनामा रुकावट आएको तथा केही मन्त्रिस्तरीय बैठक, कार्यशाला र तालीमबाहेक उल्लेख्य गति सार्कले लिन नसकेको अभिव्यक्ति पनि नेपालले बैठकमा प्रस्तुत गरेको छ ।
‘सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरिनहुने भएको छ । हाम्रो संगठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ’, बैठकका अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने । सम्भावना र अवसरले परिपूर्ण दक्षिण एशियाको सामाजिक–आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए । उनले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको बताए ।

परराष्ट्रमन्त्रीले भने, ‘चौँतीस वर्षअघि हाम्रा नेताले शान्त, समृद्ध र सुखी दक्षिण एशियाको परिकल्पना गरेर त्यो लक्ष्यमा पुग्न सार्क स्थापना गरेका हुन्, त्यो परिकल्पना साकार पार्न तथा हाम्रो साझा लाभ र हितका लागि सार्कका कार्यक्रम एवम गतिविधिलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’ एकीकृत दक्षिण एशिया, आर्थिक परस्परनिर्भरता, एशियाली आर्थिक संघ, शान्ति सुरक्षा र यो क्षेत्रको समृद्धि प्राप्तिका लागि सुदृढ एवम विस्तारित सहयोग, आपसी विश्वास र मैत्री अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए ।
सार्कको १४औँ महासचिवको नियुक्ति तथा आगामी फागुन १८ गतेदेखि नयाँ महासचिवको पदबहालीबारे पनि बैठकमा विचारविमर्श गरिएको थियो । बैठकले श्रीलंकाली महासचिवलाई अनुमोदन पनि गरेको छ । बैठकमा श्रीलंका र बंगलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए । कार्यव्यस्तताका कारण भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन् ।
यसैबीच सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले १९औँ सार्क शिखर सम्मेलन जुनसुकै समयमा आयोजना गर्न आफ्नो देश तयार रहेको जानकारी दिए । उनले सबै सदस्य देशलाई मान्य र उपयुक्त हुने समयमा कूटनीतिक माध्यमबाट सम्मेलनको मिति प्रस्ताव गरिने बताए । त्यसैगरी मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिदले सार्कलाई गति दिनुपर्नेमा जोड दिँदै क्षेत्रीय एकताको भावनालाई मर्न दिनु नहुने बताए ।
यस्तै मन्त्री ज्ञवालीले सार्कप्रति सबै सदस्य देशको सकारात्मक धारणा रहेको, सबैले समुन्नत र एकताबद्ध दक्षिण एशियाका पक्षमा अभिमत जाहेर गरेका जानकारी दिए । उनले दक्षिण एशियाको शान्ति, समृद्धि र स्थायित्वको पक्षमा नेपाल रहेको र विवादहरूको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्