Logo
Logo

बुद्ध एयर ‘उत्कृष्ट कम्पनी’, अम्बिकालाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असोज । बुद्ध एयर प्रालिले यस वर्षको ‘बेस्ट म्यानेज्ड कम्पनी’ अवार्ड पाएको छ । शुक्रबार राजधानीमा आयोजित छैठौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड–२०१९’मा उक्त कम्पनीलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।
कम्पनीको पारदर्शिता, नियमनको अनुपालना, सार्वजनिक छविलगायतका विभिन्न मापदण्डका आधारमा जुरीले कम्पनी छनोट गरेको हो । कम्पनी छनोटका आधारहरूमा व्यवस्थापनको गुणस्तर, व्यवसायको सामाजिक महत्व, संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को परिपूर्ति पनि रहेका छन् ।
यस्तै, ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ अवार्डबाट द्वारिकाज होटलका अध्यक्ष अम्बिका श्रेष्ठलाई सम्मान गरिएको छ ।
नेपाली उद्योगको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर गर्दै ८७ वर्षीया श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले बताएको छ । उनी नेपालको पहिलो बुटिक होटल द्वारिकाज होटलको संस्थापक अध्यक्षसमेत हुन् ।
कार्यक्रममा ‘बेस्ट म्यानेज्ड कमर्शियल बैंक’ अवार्डबाट एभरेष्ट बैंक लिमिटेड सम्मानित भएको छ । यही विधामा ‘फस्ट रनरअप’को अवार्ड स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड र ‘सेकेन्ड रनर अप’को अवार्ड एनआईसी एशिया बैंक लिमिटेडलाई प्रदान गरिएको छ ।
यस वर्षको ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्डबाट गण्डकी डेभलपमेन्ट बैंक लिमिटेडलाई सम्मान तथा अवार्ड प्रदान गरिएको छ । यही विधामा ‘फर्स्ट रनरअप’को अवार्ड गरिमा डेभलपमेन्ट बैंक लिमिटेड र बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक र ‘सेकेन्ड रनर अप’को अवार्ड मुक्तिनाथ डेभलपमेन्ट बैंक लिमिटेडलाई प्रदान गरिएको छ ।
‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी’ अवार्ड श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पाएको छ । सोही विधामा ‘फर्स्ट रनरअप’को अवार्ड आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड र ‘सेकेन्ड रनर अप’को अवार्ड पोखरा फाइनान्स कम्पनी लिमिटेडलाई प्रदान गरिएको छ ।
त्यस्तै, ‘बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी’ अवार्ड छिमेक लघुवित्त वित्तीय संस्थालाई प्रदान गरिएको छ । सोही विधामा ‘फस्ट रनरअप’को अवार्ड फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था र ‘सेकेन्ड रनर अप’को अवार्ड स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले पाएका छन् ।
‘बेस्ट म्यानेज्ड लाइफ इन्सुरेन्स कम्पनी’ अवार्ड नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड (एनएलआईसी)ले पाएको छ । सोही विधाको ‘फस्ट रनरअप’मा सुर्या लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड र ‘सेकेन्ड रनर अप’मा एशियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडलाई अवार्ड प्रदान गरिएको छ ।
यस्तै ‘बेस्ट म्यानेज्ड जनरल इन्सुरेन्स कम्पनी’ अवार्डबाट शिखर इन्सुरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ । सोही विधामा ‘फस्ट रनरअप’को अवार्ड नेको इन्सुरेन्स कम्पनी लिमिटेड र ‘सेकेन्ड रनर अप’को नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडलाई प्रदान गरिएको छ ।
यस वर्षको बेस्ट स्टार्ट अप कम्पनीको अवार्ड इकोसेल इन्डस्ट्रिज, काठमाडौंलाई प्रदान गरिएको छ भने स्टार्ट अप कम्पनीको रुपमा मेरो किनमेल चितवनलाई सम्मान प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन संघीय अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा ‘समृद्धिका लागि पर्यटन ः उत्कृष्ट अनुभव आदानप्रदान’ विषयको कन्क्लेभमा मेकङ टूरिजमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्स थ्राएहार्ट, भुटानका पर्यटन उद्यमी सोनाम जात्सो, लाओ टूरिजम मार्केटिङका उपमहानिर्देशक बाउनलाप दोउआङफोमी र होटेल एशोसियशन नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले आ–आफ्नो प्रस्तुति दिएका थिए । न्यू बिजनेश एज प्रालिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको मुख्य प्रायोजन एशियन पेन्ट्सले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्