Logo
Logo

आकासियो प्याजको मूल्य, भारतद्वारा निर्यातमा प्रतिबन्ध


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असोज । नेपालीको महान चाड दशैँ नजिकिँदै गर्दा बजारमा प्याज, गोलभेडालगायतका तरकारीको मूल्य आकासिएको छ । यसैबेला भारतले समेत नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण समेत तोकेको छ । भारतबाट निर्यातमा प्रतिबन्धसँगै नेपाली बजारमा प्याजको मूल्य झनै अकासिने सम्भावना बढेको छ ।
नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुँदै आएको छ । भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको हो । भारत सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ ।
मन्त्रालयले थोक विक्रेताको हकमा अधिकतम ५ सय र खुद्रा व्यापारीको हकमा १ सय क्विन्टल मात्रै भण्डारण गर्न पाउने कोटा तोकेको छ । अत्यधिक परिमाणमा भण्डारण गरी कालोबजारी गर्न सक्ने आशंकापछि यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन् । भारतमा ‘अफ सिजन’का कारण मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्छ । काठमाडौं उपत्यकामा थोक मूल्य १ सय रुपैयाँदेखि १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । खुद्रा व्यापारीले १ सय ५० रुपैयाँसम्म मूल्य तोकेका छन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो । असोज पहिलो साता यसको मूल्य अकासिएको हो । थोकमा प्रतिकिलो ४१ रुपैयाँ महँगिएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन भएको प्याज झरीले भिजेर बजार आउन सकेको छैन । त्यसको प्रभाव नेपाली बजारमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्