Logo
Logo

पर्यटन बोर्डको सीइओ को होला ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असोज । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीको कार्यकाल २०७६ पुसमा सकिंदैछ । ४ बर्षे कार्यकाल सकिएपछि उनी पुनः नवीकरण हुन खोजिरहेका छन् । पुनः एक कार्यकाल सीईओ हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका निकटहरुसँग उनले लबिङ गरिरहेका छन् । भिजिट एयर २०२० मा २० लाख पर्यटक भित्र्याउने प्रतिबद्धता पर्यटन मन्त्रालयको छ । तर बोर्डको नेतृत्व मन्त्री भट्टराईको स्पीरिट अनुसार नभएको महसुस उनले गरिरहेका छन् । उनी पुनः विज्ञापन गरी नयाँ ब्यक्तिलाई जिम्मेवारी दिने सोचमा रहेको बताइन्छ । जोशी जनसम्पर्कमा नरहने अन्तरमुखी स्वभावका छन् । उनी हत्तपत्त कसैको फोन समेत रिसिभ गर्दैनन् । जो मन्त्री हुन्छ उसको सचिवालयका कर्मचारीसँग नजिक रहँदै सत्तारुढ दलका पर्यटन हेर्ने नेताहरुले भनेअनुसारका बोर्डका काम दिनेमै उनी सीमित छन् ।

मन्त्री भट्टराई बोर्डमा नयाँ नेतृत्व ल्याउन खोजिरहेको बेला जोशी भने भिजिट नेपाल २०२० सफल बनाउन पनि आफूलाई एक कार्यकाल नवीकरण गर्नुपर्ने लबिङ गरिरहेका छन् । उनी पर्यटन क्षेत्रका बिचौलियाहरुसमेत परिचालन गरेका छन् । बोर्डमा निजी क्षेत्रबाट नियुक्त भएका पाँचै जना सदस्यलाई आफ्नो पक्षमा पारेका छन् । बोर्ड सदस्य पम्फा धमला, विप्लव पौडेल, दीपक महत, कृष्णबहादुर महरा, अवधेश झालाई आफूलाई एक कार्यकाल नवीकरण गराउन सहमत गराएर जोशीले परिचालन गरेका छन् । पौडेल र धमला बाहेक अरुको पर्यटन ब्यवसाय राम्रो छैन, बोर्डकै दोहन गरी जीवीकोपार्जन गरेकाले उनीहरु जोशीलाई निरन्तरता दिनुपर्ने पक्षमा बाध्य भएका हुन् । झालाई प्रिन्टिङको ठेक्का समेत दिइएको छ । अरुलाई पनि कुनै न कुनै लाभ हुने काम दिएका छन् ।

बोर्डकै बरिष्ठ अधिकृत कुन्दन शर्मा भने सूचना नै निकालेर नयाँ सीईओ छनोट गर्नुपर्ने पक्षमा छन् । उनी पनि सीइओ हुने दाउमा छन् । झापाका भएकाले उनी प्रधानमन्त्री केपी ओलीसँग पनि कनेक्सन मिलाएर नियुक्ति खाने दाउमा छन् ।

प्रतिक्रिया दिनुहोस्