Logo
Logo

बलात्कारको आरोप लागेपछि राजिनामाको तयारीमा सभामुख महरा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असोज ।
संसदकै कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजिनामा दिने तयारी गरेका छन् । संसदमै कार्यरत एक नर्सले महरामाथि सोमबार यस्तो आरोप लगाएकी हुन् । आइतबार बेलुका राजधानीको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले जबर्जस्ती गरेको ती महिलाको दाबी छ ।

CPN-Maoist Centre leader Krishna Bahadur Mahara speaks at a Legislature-Parliament in Kathmandu, on Friday, July 22, 2016. Photo: RSS

सभामुख महराले भने आफूमाथि लागेको आरोप निराधार र कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन् । उनी आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजे बालुवाटार निवास फर्किएपछि कतै नगएको उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘सभामुखको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो सुनियोजित र योजनाबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।

ती महिलाले भने आइतबार बेलुकी आफ्नो कोठामा आएका सभामुख महराले जबर्जस्ती गरेपछि प्रहरीलाई खबर गरेको बताएकी छिन् । प्रहरी स्रोतका अनुसार आइतबार बेलुकी ती महिलाले प्रहरीको हटलाइन १०० मा फोन गरेकी थिइन् । केहीबेरमै महानगरीय प्रहरी वृत्त बानेश्वरबाट प्रहरी उनको डेरामा पुगेको थियो । त्यतिखेर ती महिला एक्लै थिइन् । प्रहरीले उनलाई जाहेरी दिन कार्यालय हिँड्न भनेको थियो । उनले सोमबार आउने बताएकी थिइन् । तर, सोमबार उनी प्रहरीमा गएकी छैनन् । जाहेरी नपरेकाले प्रहरी अधिकारीहरू आधिकारिक रूपमा बोल्न चाहेका छैनन् ।
यही विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको छ । सभामुख महराले राजिनामा दिने तयारी गरेको उनी निकट स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्