Logo
Logo

दशैँ : फिल्म हुनेलाई सकस, नहुनेलाई कर्कस


- एमपी सुब्बा


काठमाडौंं, १४ असोज ।  ‘यसपालिको दशैं कसरी मनाउने योजना बनाउनुभएको छ ?’ कलाकारलाई सोधिने यो रेडिमेड प्रश्न हो अर्थात् प्रत्येक वर्ष नेपालीहरुको महान चाड दशैँ नजिकिँदै गर्दा सेलिब्रेटीमाथि यस्तै प्रश्न तेर्साइन्छ । कलाकार झनै के कम ? उनीहरु पनि ‘रेडिमेड’ जवाफ दिन्छन्, ‘साथीभाईसँग रमाइलो गर्ने, तास खेल्ने र रमाउने ।’ त्यस्तै, यसपटक पनि अधिकांश कलाकारले ‘रेडिमेड’ जवाफ दिँदै आएका छन् । किनकि, उनीहरुमाथि सोधिने प्रश्न नै ‘रेडिमेड’ छ ।

तर, यसपाली केही कलाकारलाई दशैं यस्तो लाग्दैछ, ‘कतै दशैँ दशा पो बन्ने हो कि’ अहिले यस्तै चिन्ता छ, हास्य अभिनेता दिपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, केकी अधिकारी, जितु नेपाललगायतका कलाकारलाई । दशैँको प्रश्न तेर्सिनेवित्तिकै यी कलाकारको मुखबाट फुत्त निस्किन्छ, ‘छ माया छपक्कै’ दशैँ लाग्यो होइन त ? प्रश्न भूँइमा खस्न नपाउँदै दिपकराज भन्छन्, ‘हो, लाग्यो, छपक्कै लाग्यो ।’

यसपटक यी कलाकारलाई दशैँको साइत कस्तो जुरेको छ भने, अरु दशैँको रमझममा रमाइरहँदा यिनीहरु ‘छ माया छपक्कै भन्दै बस्नुपर्ने अवस्था आएको छ । दशैँ लक्षित गरेर निर्माण गरिएको ‘छ माया छपक्कै’ टिकाभन्दा दुई दिन पर पुगेको छ अर्थात २४ असोजमा फिल्म ‘छ माया छपक्कै’ सिनेमा हलमा लाग्दैछ । यो दशैँ लक्षित फिल्म हो । तर, फिल्म रिलिजको साइत कटेपछि मात्र जुरेकाले यो टिम अप्ठ्यारोमा परेको हो । त्यसैले पनि दिपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारीहरुको दशैँ फिल्म प्रमोशनमै वित्ने भएको छ ।

गत वर्ष दशैँमा दिपकराज र दीपाश्रीकै फिल्म ‘छक्का पञ्जा–३’ रिलिज भएको थियो । त्यतिखेरैदेखि यसपालीको दशैँ लक्षित गर्दै नयाँ फिल्म निर्माण गर्ने सोच बनाएका यिनै टिमको फिल्म ‘छ माया छपक्कै’ रिलिज हुन लागेको हो । तर, गत वर्षको जस्तो मिल्दो अवसर देखिएन ।

‘मासुभात टन्न खाने, निधारभरी टिका लगाउँने अनि छ माया छपक्कै’ केकीको दशैँ योजना हो यो । विगतका दशैँमा रेडिमेड जवाफ दिने गरेकी केकीले यसपाली बनावटी जवाफ दिने गरेकी छन् । ‘फिल्म प्रमोशन गर्दै दशैँ मनाउनु पनि मज्जा नै आउँछ’ उनको भनाइ छ ।

‘छ माया छपक्कै’ टिमका कलाकार र निर्मातालाई फिल्म कसरी हिट बनाउने भन्ने चिन्ताले छुँदा निर्देशकलाई नछुने कुरै भएन । उक्त फिल्मका निर्देशक दिपेन्द्र लामा हुन् । फिल्म रिलिज नभएसम्म उनको मुखमा पनि ‘छ माया छपक्कै’ झुण्डिएको छ । तर, फिल्म रिलिज भएपछि माया पाइने हो वा नपाइने भन्ने चिन्ता उनलाई छ । ‘दशैँ त सधैँ आउँछ तर मेरो फिल्म हरेक वर्ष आउँछ भन्ने छैन’ दिपेन्द्रको यो अनौपचारिक भनाइ हो, ‘तर, जे भएपनि यसपालीको दशैँ रमाइलो नै हुनेछ ।’ फिल्म समीक्षक समेत रहेका दिपेन्द्रलाई आफ्नो फिल्मको प्रमोशनको जिम्मा अरुको काँधमा थमाएका छन् । त्यसैले पनि दशैँ रमाइलै हुने अपेक्षा लिएका छन् । तर, जो व्यक्तिको काँधमा जिम्मेवारीको बोझ छ, उसलाई दशैँ न सशैँ ।

फिल्मकर्मी आफ्नो फिल्म रिलिजका लागि सधैं विशेष अवसर कुरिरहेका हुन्छन् । फिल्म रिलिजको लागि सबैभन्दा बढी पर्खिने समय भनेको दशैँ र नयाँ वर्षको छेको हो । तर, पछिल्लो समय न नयाँ वर्षमा राम्रो फिल्म रिलिज भएका छन्, न त दशैँमै । तैपनि फिल्मकर्मीहरु दशैँ तामझामका साथ मनाउने गर्दछन् । अन्य समयभन्दा बढी समय व्यस्त जीवनशैलीबाट मुक्त हुने प्रयास गर्दछन् । मौसम पनि सहज र अनुकुल रहन्छ । यो दशैँमा आफ्नो फिल्म नहुनेका लागि हो ।

गत वर्ष दशैँमा दिपकराज र दीपाश्रीकै फिल्म ‘छक्का पञ्जा–३’ रिलिज भएको थियो । त्यतिखेरैदेखि यसपालीको दशैँ लक्षित गर्दै नयाँ फिल्म निर्माण गर्ने सोच बनाएका यिनै टिमको फिल्म ‘छ माया छपक्कै’ रिलिज हुन लागेको हो । तर, गत वर्षको जस्तो मिल्दो अवसर देखिएन । त्यही भएरै उनीहरुले फिल्म प्रमोशनका लागि छुट्टै गीत समेत बनाएका छन्, ‘बिच बिचमा’ । गत वर्ष दशैँमा ‘छक्का पञजा’बाट राम्रै लाभ उठाएका दिपकराज र दीपाश्रीले यसपाली कस्तो रेस्पोन्स पाउँछन्, त्यो भने फिल्म रिलिजपछि थाहा होला । तर, दीपाश्री भन्छिन्, ‘हामीलाई दर्शकको छ माया छपक्कै, बालै चिन्ता ।’

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारी हुन् । तर, उनलाई भने चिन्ता छैन किनकि, उनी कलाकारकै ट्रेण्डबाट ढुक्क छन् । यो फिल्ममा केकी अधिकारी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्टलगायत कलाकार छन् । उनीहरुको भने दाँतमा पसिना आइरहेको छ । उनीहरुलाई फिल्म हिट बनाउन प्रतिष्ठाको कुरो छ ।

हुन त यो दशैँलाई अरु गतिलो फिल्म छैन । केही फिल्म थियो, ती रिलिज भइसकेका छन् । दशैँको मुख ताक्ने निर्मातामध्ये एक हुन्, अशोक शर्मा । तर, उनको फिल्म ‘रातो टिका निधारमा’ अहिले रिलिजमै छ । दशैँको फूलपातीकै दिन रिलिज गर्ने लक्ष्य लिएका अशोकले आफ्नो फिल्म दशैँ आउन एक साताभन्दा अगाडि रिलिज गर्न बाध्य भए । कारण ‘छ माया छपक्कै’ नै हो । यदि ‘रातो टिका निधारमा’ अहिले रिलिज नभएको भए दिपकराजकै फिल्म रिलिज गर्नुपर्दथ्यो । ‘छ माया छपक्कै’सँग सम्झौता गर्दा दुईटै फिल्मले दशैँको छेको गुमाउनुप¥यो ।

गतवर्षको दशैँमा पनि दिपकराजसँगै अशोकको टक्कर भएको थियो । गतवर्ष दशैँताका अशोकको फिल्म ‘जय भोले’ रिलिजका लागि उनले दीपकराजको समूहसँग मिलाएका थिए । यस वर्षको दशैँमा उनको फिल्म ‘रातो टिका निधारमा’का लागि पनि हात मिलाउनुप¥यो ।

यस्तै, अशोक शर्माले अर्को वर्षको दशैँलाई लक्षित गर्दै फिल्म ‘अल्लारे–२’ निर्माण गर्ने घोषणा गरेका छन् । अर्को वर्षको दशैँमा दीपकराजको समूहले निर्माण गर्ने फिल्म ‘छक्का पन्जा–४’ पनि प्रदर्शनको मिति दावेदार मानिन्छ । यीबाहेक अन्य फिल्महरु पनि दशैँ लक्षित गर्दै रिलिज मिति घोषण गर्न सक्नेछन् ।

नेपाली फिल्मकर्मीहरुमा फिल्म फ्लोरमा जानुअगावै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने प्रवृति बढ्दै गएको छ । त्यसमा पनि बलिया ब्यानरका फिल्महरुले दशैँ लक्षित गर्दै आएका छन् । अरु समयभन्दा दर्शकको हलमा चाप बढी हुने र दर्शकको चाप पनि हुने भएकाले फिल्म लगाउँदा राम्रो मुनाफा आर्जन गर्ने भएपछि अधिकंश फिल्मकर्मीको ध्यान दशैँ, नयाँ वर्षजस्ता सार्वजनिक चाड पर्वमामा हुन्छ । तर, अधिकांश फिल्मकर्मीले त्यो अवसर पाउँदैनन् । अवसर पाएकाहरु समेत चुक्न थालेका छन् ।

‘यसपालिको दशैँमा के योजना बनाउनुभएको छ ?’ अभिनेत्री करिश्मा मानन्धरले रेडिमेड प्रश्नको जवाफमा भन्छिन्, ‘दशैँ त दीपकराज र दीपाहरुलाई राम्रो लाग्दैछ होला । आफ्नो त फिल्म सिल्म केही छैन । साथाभाइ र परिवारसँग रमाइलो गरेर मनाइन्छ । यो बच्चादेखि अहिलेसम्म चल्दै आएको छ ।’ तर, उनले भनेजस्तो फिल्म हुनेहरुलाई दशैँ रमाइलो छैन किनकि, उनीहरु ढुक्कले दशैँ मनाउनसमेत पाउँदैनन् ।

फिल्म नहुनेलाई भन्न मात्र सजिलो हो । फिल्म हुनेहरुको चिन्ता कस्तो हुन्छ भन्ने केकी अधिकारीहरुको भनाइले पनि स्पष्ट हुन्छ । ‘निधारमा रातो टिका लगाएर’ कसलाई सिनेमा प्रमोशन गर्दै हिँड्नु रहर लाग्ला र ? तर, फिल्ममा काम गरिसकेपछि प्रमोशन गर्नु एउटा कलाकारको कर्तव्य हो । त्यही कतव्र्य पालना गर्दैछिन्, यसपटक अभिनेत्री केकी अधिकारी । तर, फिल्म नहुने करिश्मा, रेखा थापा, झरना थापादेखि लिएर नयाँ राईजिङ स्टारहरुले पनि यसपालीको दशैँ विन्दासले मनाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्