Logo
Logo

वीर अस्पतालमा सुटुक्क नर्स भर्ना प्रकरणः पत्र नदिई काममा लगाइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असोज । देशकै पुरानो र ठूलो अस्पताल तथा स्वास्थ्य स्नातकोत्तर शैक्षिक सस्था चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल एक स्वायत्त स्वाशासित सस्था हो । यसलाई आवश्यक पर्ने शिक्षक तथा कर्मचारी लिन सेवा आयोगको ब्यवस्था ऐनले गरेको छ ।
हाल सेवा आयोग (पदपूर्ति समिति) नियोजित रूपमा आयोग पदाधिकारीबिहीन बनाइएको छ । सो आयोग पूर्ण गर्न निर्देशक आनाकानी गरिरहेका छन् । सो आयोग नहुँदा आफूखुसी कर्मचारी भर्ना गर्न पाइन्छ । २०७६ असोज ८ गते निर्देशक डा केदार सेन्चुरीले एकै पटक २५ जना स्टाफ नर्सलाई जागिर लगाएका छन् ।

कुन प्रक्रिया र कहाँबाट नर्स राख्न लागिएको हो भन्दै कर्मचारी र प्रशासनको बिरोधपछि निर्देशक सेन्चुरीले शुक्रवारलाई सोही २५ जनामा ५ जना थप गरी लाई अन्तर्वार्ता लिने भन्दै बोलाएका थिए । अन्तर्वार्ता लिए । स्वास्थ्य मन्त्रालयको करारमा र अस्थायी कर्मचारी भर्ना नगर्न गरेको परिपत्र, लोकसेवा आयोगको पत्र र न्याम्स कर्मचारी नियमावलीविपरीत नर्स भर्ना गरिएको छ । ३० जना नर्स विनाबिज्ञापन कहाँबाट नियुक्ति गरियो ?

निर्देशक सेन्चुरीले गोप्यरुपमा अन्तर्वार्ताका लागि बोलाएर राख्न मिल्छ ?  निर्देशक सेन्चुरीले अत्यावश्यक भएकाले विज्ञापन नगरी राखिएको तर्क दिने गरेका छन् । तर अत्यावश्यक र आकस्मिकता भयो भनेर त्यो पनि ३० जना अत्यावश्यक भनेको १, २, ५सम्म होला तर ३० जना त हुँदैन । प्रतिष्ठानका अन्य पदाधिकारीलाई जानकारी नै नदिई सुटुक्क नर्स भर्ना गरिएको छ । अन्य पदाधिकारीले बिरोध गरेपछि अन्तर्वार्ताको नाटक रचेर घुस दिनेलाई भर्ना गरिएको छ । डा. सेन्चुरीका निकटहरुले नर्स भर्नामा प्रतिब्यक्ति ३ लाख रुपैयाँसम्म असुली गरेको आरोप छ ।

अनियमित रुपमा नर्स भर्ना गरिएकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी परेपछि भर्ना गरिएका नर्सहरुलाई पत्र नदिई काममा लगाइएको छ । अख्तियारमा २०७६ असोज १२मा उजुरी दर्ता भएको छ । ७६७७ सी–८९८१ दर्ता नम्बरको उजुरीमा नियमविपरीत ३० नर्स भर्ना गरिएकाले कारबाही गर्न र उनीहरुको नियुक्ति रद्द गर्न माग गरिएको छ ।

नियुक्तिपत्र नदिई काममा लगाइएका नर्सहरुले केही काम बिगारे वा उनीहरुका कारण कसैको मृत्यु भएमा कसले जिम्मा लिन्छ ? उनीहरु अस्पतालका कर्मचारी हुन् भन्ने प्रमाण नियुक्ति पत्र हो, तर उनीहरुलाई दिइएको छैन । पत्र विना नै काममा लगाएर कुनै काम बिग्रेमा उनीहरु भागे कसले जिम्मा लिने ? यो प्रश्न अस्पतालका कर्मचारीहरुबीच उठेको छ ।

निर्देशक सेन्चुरीले घुस असुली गरेकाहरुलाई अन्तर्वार्ताको नाटक गरी पूरै अंक दिएर भर्ना गरेका छन् । पासै नहुनेलाई पास गराउन पूरै नम्वर दिएको आरोप सेन्चुरीमाथि लागेको छ । नर्स राख्ने हल्ला चलेपछि केही ब्यक्ति प्रमाणपत्र बोकेर निर्देशककोमा निवेदन दर्ता गराउन तोक लगाउन गएका थिए । उनले समय छैन, हँुदैन भने र फर्काइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्