Logo
Logo

माओवादी र जसपासँग एकताबारे छलफल चल्दैछ : माधव नेपाल



राजविराज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता कब्जा गर्ने दाउ चलिरहेको बताएका छन् ।
शनिबार सप्तरीको राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले देश गोलचक्करबाट कसरी निस्कने भन्ने चिन्ताको विषय भएको भन्दै यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘सत्ता कब्जाको दाउ चलिरहेको छ । सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोचबाट नेतृत्व ग्रसित छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वर्तमान सरकार आएपछि तमासाहरु भइरहेको समेत बताए । उनले भने, ‘तमासाहरु भइरहेको छ, अझै कतिवटा तमासा हेर्न बाँकी नै छ ।’

नेकपा एमालेले राष्ट्रपति पाए उसलाई कसैले छुन नसक्ने बताउँदै भने, ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन्, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ? एमालेमा असहिष्णु र संकीर्ण सोच छ ।’

उनले आफ्नो पार्टी एकीकृत समाजवादीसँग वार्ता गरेकै कारण जसपालाई सरकारमा मौका नदिएको समेत दावी गरे । ‘जसपा नेतासँगको भेटमा एमालेका नेताले माधव नेपालसित वार्ता गरेका कारण सरकारमा मौका नदिएको कुरा बताएको विषय बाहिर आएको छ’ उनले भने, ‘यति असहिष्ण, यति संकीर्ण सोच भएकाबाट के होला ?’

उनले राष्ट्रपतिको निर्वाचन समय बाँकी नै रहेकाले अहिले नै उम्मेदवारका विषयमा छलफल नभएको बताए । कांग्रेस वा गैरकांग्रेस को राष्ट्रपति हुने छलफलको विषय भएको बताउँदै उनले भने, ‘सबै पद कांग्रेसलाई नै चाहिन्छ भन्ने छैन । प्रधानमन्त्री पनि चाहिने तर अरुको कुरा नगर्ने भएपछि त कुरा बिग्रिन्छ नि ।’

अर्को एक प्रशंगमा उनले माओवादी र जसपासँग पार्टी एकताबारे छलफल भइरहेको बताए । ‘कुराहरु चलिरहेको छ, कुन ठाउँमा गएर निष्कर्षमा पुग्ने हो हेर्न बाँकी छ’, नेपालले भने, ‘नेकपा माओवादी केन्द्र, जसपा, चन्द्रदेव जोसीको नेकपा संयुक्त र वामदेवजीसँग कुरा भइरहेको छ, हामी चाहन्छौं एकता वा सहकार्य होस् ।’

प्रतिक्रिया दिनुहोस्