Logo
Logo
टिप्पणी

सडकमा समर्थक- जस्तो भगवान उस्तै भक्त



काठमाडौं । रवि लामिछानेलाई भगवान मान्नेहरू पनि छन् । पत्रकारिताको माध्यमबाट दुःखी–पीडितका लागि रविले गरेका काम सराहनीय छन् । तर, उनको अराजक शैलीमा अराजकता चाहनेहरू मात्र खुशी हुन्छन् ।

अमेरिकी नागरिकता लिएसँगै नेपालको कानुनतः रविको नेपाली नागरिकता खारेज भयो । नेपाल फर्केर विभिन्न विवादमा परेपछि रविले अमेरिकी पासपोर्ट र अमेरिकी नागरिक पुष्टि हुने प्रमाणहरू त्यागे तर नेपाली नागरिकता पुनः प्राप्तिका लागि केही कदम नै चालेनन् । शुक्रबार सर्वोच्च अदालतको फैसला त्यसको परिणाम हो ।

सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गर्यो । सर्वोच्चको फैसलासँगै रवि अनागरिक मात्र निभाएनन्, सबथोक गुमाए । सर्वोच्चको फैसला रवि स्वयंले स्वीकार गरेका छन् । तर, उनका समर्थहरू सर्वोच्चको निर्णयविरूद्ध सडक प्रर्दशनमा उत्रनसम्म पछि परेनन् ।

रवि आफैले लामो समयदेखि कानुनी शासनमाथि धावा बोलिरहे, चुनौती दिइरहे । उनी आफैले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा कुनै दिन नागरिकताकै विषयलाई लिएर ‘मलाई अनागरिक बनाइनेछ’ भनेका थिए । तर, नागरिकता पुनः प्राप्तिका लागि कदम नै चालेनन् । बरु, सके कारबाही गरेर देखाउ भन्दै धम्की दिइरहे ।

खारेज भइसकेको नागरिकता बुझाएर रविले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै सभापति बने, सोही पार्टीबाट चुनाव लडेर गृहमन्त्री समेत बने । तर, कानुनी राजमा सधैँ मनपरी चल्दैन भन्ने शुक्रबार मात्र थाहा पाए । कसैलाई नटेर्ने रवि सिंहदरबारको सिंहासनबाट ‘म अनागरिकसँग कुनै प्रश्नको जवाफ छैन’ भन्दै लुसुक्क निवास फर्के ।

रविले राजनीतिक नेतृत्वलाई सामान्य मर्यादा पनि नराखी हजारौं पटक गाली गरेका छन् । न्यायालयलाई कयौँपटक दुत्कारेका छन्, शासक प्रशासकलाई अनेकौं पटक सरापेका छन् । तर, आज परिस्थिति फेरियो ।

पत्रकारिता छोडेर राजनीतिमा होमिएसँगै रविले आफूलाई सम्हाले । संयम र सभ्य भाषामा प्रस्तुत हुन थालेका रविले ‘प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको छु’ भन्ने स्वीकार गरे । तर, रविलाई आदर्श मान्नेहरूको अवस्था उस्तै छ । हिजो रवि जसरी प्रस्तुत हुन्थे आज पनि उनीहरू त्यसरी नै प्रस्तुत भइरहेका छन् । अर्थात, अराजक ।

​​​​​​​शुक्रबार सर्वोच्च अदालतले रविको नागरिकता विवाद मुद्दामा फैसला गर्दैगर्दा सर्वोच्च परिसरमा उनका समर्थक भेला भएका थिए । फैसला लगत्तै सर्वोच्च न्यायालयविरुद्ध नाराबाजी गरे, हुलदङ्गा मच्याए । केहीलाई प्रहरीले नियन्त्रणमा समेत लियो ।

शुक्रबार साँझयता सामाजिक सञ्जाल हेरिसक्नु छैन । रविका समर्थहरू सिधा कुरामा रवि चिच्याए जसरी नै चिच्याइरहेका छन् । गालि गर्न कसैलाई बाँकी राखेका छैनन् । बोल्नु हुने र नहुने, लेख्न हुने र नहुने सबथोक लेखिरहेका छन् । अर्थात उनीहरूको सिमा नै छैन ।

कानुनी राज्यमा न्यायालयको फैसला स्वीकार्य नै हुन्छ । अर्थात कानुनभन्दा कोही माथि हुन सक्दैन । केही दिन कानुनलाई झुक्याउन सकिएला तर कुनै न कुनै दिन कानुनको फन्दामा कसो नपरिएला ?

सायद, रविले पनि कानुनले सबथोक खोस्छ भन्ने कहिले कल्पना गरेका थिएनन् । उनलाई अलिकति मात्र हेक्का भएको भए नागरिकता पुनः प्राप्तिको सामान्य प्रकृया पूरा गर्न किन अटेर गर्थे होला ? तर, आज त त्यसको परिणाम भोग्नुको विकल्प नै रहेन ।

मुद्दा रविसँग मात्र जोडियो । तर, विषय सामान्य थिए । को नागरिक र को अनागरिक ? भन्ने प्रश्नले आज रविसँगै जोडिएको मुद्दा कति संवेदनशील भन्ने त प्रष्ट पारेकै छ । अर्थात, रविसँग जोडिएको मुद्दा रवि एक्लैको मुद्दा होइन, यो आम नेपाली नागरिकको मुद्दा हो । यसले हामीलाई थप संवेदनशील बनाएको छ । बन्नु पर्छ ।

रविलाई भगवान नै मानेर समर्थन गर्नेहरूलाई के कुरा थाहा हुनुपर्छ भने कानुनभन्दा माथि कोही हुँदैन । भगवान मानेका रवि पनि माथि हुन सकेनन् । अर्थात, रविको पक्षमा सञ्जालदेखि सडकसम्म कुर्लनेहरू पनि कानुनभन्दा माथि हुन सक्दैनन् । ख्याल नगरी जथाभावी लेख्ने र बोल्नेहरू पनि फन्दामा पर्न सक्छन् ।

यो कुरा बुझे हुन्छ– रविको मुद्दा यत्तिमा सीमित हुने छैन । रविले प्रयोग गरेको नागरिकता नै अवैध ठहर भएसँगै यो नागरिकता प्रयोग गरेर रविले गरेका सबै कामहरू अवैध (अपराध) ठहरिकाए छन् । यो मुद्दाले रविलाई झनै अप्ठ्यारोमा पार्ने छ । 

भक्तहरूलाई नराम्रो लाग्नसक्छ । तर, नागरिकता दुरुपयोगसम्बन्धी कसुर, राज्यलाई गुम्राहमा पारेर गरेको नक्कली र जालसाजी कसुरमा रवि जेल पनि जान सक्छन् ।

अवैध नागरिकता प्रयोग गरेर रविले नेपाली राहदानी बनाएका छन्, सोही नागरिकताले पार्टी दर्ता गरेका छन्, सोही नागरिकता बुझाएर सांसद हुँदै मन्त्री भएका छन् । मन्त्री भएर उनले अनेक निर्णयहरू गरेका छन् । यी सबै अवैध ठहर भएका छन् ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आइसकेको छैन । पूर्णपाठमा रविले जालसाजी गरेको र कानुनबमोजिम कारबाही गर्नुपर्ने ठहर गरेको उल्लेख भएमा रवि तत्काल जेल जानुपर्ने हुन्छ । यदि, सर्वोच्चको फैसलामा यस विषयमा बोलिएको छैन भने पनि अवैध नागरिकता प्रयोग गर्दै रविले गरेका अनैतिक कदमहरूको बिटा समातेर मुद्दा दायर गर्न तयार भएका धेरै छन् ।

त्यसैले, अहिलेको अवस्थामा रविबाट भएका सम्पूर्ण गल्तिहरूलाई मनन् गर्दै न्यायालयको फैसलालाई सम्मान गर्नु नै उत्तम हुन्छ । किनकी, बिग्रेका बाटा र पाटाहरू सच्याएर अघि बढ्न रविलाई ठूलो अवसर मिलेको छ । यो अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने हो भने राजनीतिमा रविको भविष्य त सबैले उज्यालो  देखेकै छन् क्यारे !

प्रतिक्रिया दिनुहोस्